
काठमाडौं १३ साउन । प्रतिनिधिसभाको बैठकमा राष्ट्रिय चिकित्सा शिक्षा विधेयकमाथिको सैद्धान्तिक छलफल सुरु गरिएको छ ।
प्रतिनिधिसभाको आईतबारको बैठकमा राष्ट्रिय चिकित्सा शिक्षा विधेयकमाथिको सैद्धान्तिक छलफल सुरु भएको हो ।
छलफलमा भाग लिँदै सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सांसद खगराज अधिकारीले विधेयकमा नर्सिङ, फार्मेसीलगायतका क्षेत्रलाई समेटनु पर्नेमा जोड दिनु भयो । विधेयकले गुणस्तरीय स्वास्थय सेवामा जोड दिएपनि स्वास्थ्य क्षेत्रको समग्र सुधारमा चासो नदिएको उहाँको भनाई छ ।
डा. गोविन्द केसीसँग सहमति गरेपछि सरकारले शुक्रबार बसेको प्रतिनिधिसभाको बैठकमा यो विधेयक पेश गरेका थियो । सांसद अधिकारीले विधेयकमा निजी क्षेत्रले ल्याएको विकृतिलाई अन्त्य गर्ने व्यवस्था गर्नुपर्न आवश्यक्ता पनि औंल्याउनु भयो ।
प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका सांसद दिलेन्द्रप्रसाद बडुले विधेयकमा भएको व्यवस्था अनुसार कानुन निर्माणमा ढिलाई नगर्न सरकारको गम्भिर ध्यानाकर्षण गराउनु भयो । उहाँले सरकार गोविन्द केसीसँग भएको सहमति अनुसार कानुन निर्माण गर्न इमान्दार हुने विश्वास व्यक्त गर्नु भयो ।
काँग्रेसका अर्का सांसद भरतकुमार शाहले विधेयकलाई जस्ताको तस्तै पारित गर्नुपर्ने माग गर्नु भयो । उहाँले गोविन्द केसीसँग गरिएको सहमति अनुसार ल्याइएको विधेयकलाई संशोधन गरिरहन नपर्ने पनि अडान राख्नु भयो । सांसद शाहले राष्ट्रिय चिकित्सा शिक्षा विधेयकको नाममा राजनीति गर्ने मनसाय आफूहरुको नरहेको तर्क पनि गर्नु भयो । सरकारको हठका कारण विधेयक ल्याउन ढिलाई भएको सांसद शाहको आरोप छ ।
सांसद सरिता गिरीले विधेयक संविधान र कानुन विपरित रहेको आरोप लगाउनु भयो । स्थानीय, प्रदेश र केन्द्रको स्पष्ट कार्य विभाजनसहितको कानुन निर्माण गरेपछि मात्रै सो विधेयक ल्याउनुपर्ने उहाँको तर्क छ ।
सांसद प्रेम सुवालले भने सरकारले ल्याएको राष्ट्रिय चिकित्सा विधेयकप्रति आपत्ति जनाउँदै स्वास्थ्य क्षेत्र निजी क्षेत्रलाई दिनै नहुने तर्क गर्नु भयो । जनतालाई पक्षपात गर्नेगरी विधेयक आएकाले त्यसको विरोध गर्नु परेको सांसद सुवालको भनाई छ ।



















प्रतिक्रिया दिनुहोस्