
लाभकर गणना विधिमा पुरानै प्रक्रिया अपनाउन सरकार तयार भएपछि सेयर कारोबार खुलेको छ।
असार मसान्तसम्म पुरानै विधिबाट लाभकर असुल गर्ने र त्यसपछि गठित समितिको सुझाव अनुसार अघि बढ्न सरकार तयार भएपछि लगानीकर्ताले आन्दोलन फिर्ता लिएका छन्। सरकार र लगानीकर्ताबीच आज वार्ता भएको थियो।
बोनस र हकप्रद सेयरमा अंकित मूल्य १ सयलाई नै आधार बनाएर पूँजीगत लाभकर शुल्क आन्तरिक राजश्व कार्यालयले नेप्सेलाई निर्देशन दिएपछि लगानीकर्ता आन्दोलित भएका थिए। सो व्यवस्थाले नोक्सान ब्यहोर्दा पनि लाभकर तिर्नुपर्ने बाध्यात्मक अवस्था सिर्जना भएको भन्दै लगानीकर्ताले विरोध जनाएका थिए।
सेयर लगानीकर्ता संघका उपाध्यक्ष ताराप्रसाद फूल्लेलका अनुसार आन्तरिक राजश्व विभागको सर्कुलर तत्कालका लागि स्थगित गर्ने सहमति भएको हो, फिर्ता गर्ने सहमति होइन ।
अर्थमन्त्रालयले मंगलबार हकप्रद र बोनसमा लाभकर गणनाको विधिको बिषयमा अध्ययन गर्न सहसचिव उत्तरकुमार खत्रीको संयोजकत्वमा एक समिति निर्माण गरेको थियो । समितिमा नेप्से, सिडिएससी र धितोपत्र बोर्डका अधिकारीको समेत सहभागिता छ। इन्भेष्टर्स फोरमका अध्यक्ष अम्बिकाप्रसाद पौडेलले असार मसान्तसम्म पुरानै प्रक्रियाबाट लाभकर असुल गर्ने सहमति भएको जानकारी दिए। उनले भने ‘हामीले जे माग उठाएका हौं, सरकार त्यसमा तयार भयो, हामीले पनि कारोबार सुचारु गर्यौं।’
लगानीकर्ताको आन्दोलन फिर्ता भएपछि १ बजेर ९ मिनेट जाँदाबाट सेयर कारोबार खुलेको छ। कारोबार खुलेपछि नेप्से परिसूचक उकालो लागेको छ।



















प्रतिक्रिया दिनुहोस्