
काठमाडौं, ५ जेठ । नेकपाको गठनपछि पहिलो बैठक बसेको पार्टीका संघीय संसद्का सदस्यको बैठकलाई अध्यक्षता गर्दै प्रधानमन्त्री केपी शर्माले ओलीले सन्तुलित छिमेक सम्बन्ध र राष्ट्रिय स्वाधिनताको जगमा भारत र चीनसँग सम्बन्ध विकास भइरहेको जनाउँदै आफू एक महिनापछि चीनको औपचारिक भ्रमणमा जाने तयारीमा रहेको बताउनुभयो ।
उहाँले दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क), बिमस्टेकलगायतका क्षेत्रीय र अन्तर्राष्ट्रिय मञ्चलाई सक्रिय गराउन नेपालले प्रयास गर्ने स्पष्ट गर्नुभयो ।
काँग्रेस झस्कनु पर्दैन
प्रधानमन्त्री ओलीले वामपन्थीले जित्दा, सरकार बनाउँदा वा एकता हुँदा प्रतिपक्षी नेपाली काँग्रेस झस्कनु नपर्ने पनि बताउनुभयो । उहाँले नेपालमा सबैभन्दा लोकतन्त्रवादी दल नेकपा भएको दाबी गर्दै भन्नुभयो, “हामी यो शक्ति गलत ठाउँमा प्रहार गर्दैनौँ । नआत्तिए हुन्छ ।”
निर्वाचन क्षेत्र विकास कार्यक्रमको स्वरुप परिवर्तन हुने
सांसदहरुले निर्वाचन क्षेत्र विकास पूर्वाधार विकास कार्यक्रमलाई निरन्तरता दिन माग गरिरहेको सन्दर्भमा प्रधानमन्त्री ओलीले त्यसको ढाँचा परिवर्तन हुन सक्ने जनाउनुभएको छ । “हामी निर्वाचन क्षेत्रको विकास गर्ने नै हो, यसमा विवाद छैन तर समानुपातिकका र राष्ट्रियसभाका सदस्यलाई कुन निर्वाचन क्षेत्रमा राखेर बजेट दिने भन्ने पनि अन्योल छ, हामीले गर्ने क्षेत्रको विकास हो, त्यसो गर्दा सांसदहरु बद्नाम नहुन् भन्नेमा पनि हामी सचेत हुनुपर्छ । यसमा सांसदहरुको नेतृत्वमा छानिएका योजनालाई कार्यान्वयन गर्ने गरी जान सकिन्छ ”’
बजेटमा प्रदेशगत सुझाव दिन आग्रह
बैठकले सांसदहरुलाई प्रदेशगत छलफल गरेर बजेटमा छुटाउनै नहुने कार्यक्रमबारे यही जेठ ८ गतेभित्र सरकारलाई लिखित सुझाव दिन निर्र्देशन दिएको छ । निर्देशनपछि पार्टीका सांसदहरुको प्रदेश प्रदेशमा बैठक बस्नेक्रम शुरु भएको छ ।
उपनेता र सचेतक तोक्न बाँकी
बैठकले दलको नेतामा ओलीलाई सर्वसम्मत चयन गरे पनि उपनेता, प्रमुख सचेतक र सचेतकबारे नेताहरुले सल्लाह गरेर निर्णय गरिने सांसद देवप्रसाद गुरुङले जानकारी दिनुभयो । उहाँले दलको विधान परिमार्जनको प्रक्रिया शुरु हुने पनि जनाउनुभयो ।



















प्रतिक्रिया दिनुहोस्