काठमाडौं, १ असार । खोटाङको दुर्गम गाउँ हौचुरमा हुर्किएका एक नेपाली युवाको सपना आज विश्वकै अग्रणी फिनटेक उद्योगसँग जोडिएको छ। भारत सरकारको COMPEX छात्रवृत्तिबाट उच्च शिक्षा हासिल गरेका दीपेश कार्की अहिले भारतको प्रमुख पियर–टु–पियर (P2P) ऋण प्लेटफर्ममध्ये एक LenDenClub का सह–संस्थापकका रूपमा परिचित छन्।
शिक्षक परिवारमा जन्मिएका कार्कीले बाल्यकालमा गाउँमा बैंक तथा वित्तीय संस्थाको पहुँच नहुँदा मानिसहरूले आपसी विश्वासका आधारमा ऋण सापटी गर्ने चलन नजिकबाट देखेका थिए। यही अनुभवले पछि प्रविधिमार्फत वित्तीय पहुँच विस्तार गर्ने सोच जन्मायो। आज उनले सह–स्थापना गरेको LenDenClub ले ३ करोडभन्दा बढी ग्राहकलाई सेवा दिइरहेको छ।
कार्कीको जीवनमा सन् २००७ निर्णायक मोड बनेको थियो। कडा मेहनत र सीमित स्रोतसाधनबीच उनले COMPEX छात्रवृत्ति परीक्षामा उत्कृष्ट नतिजा हासिल गर्दै भारतको नेशनल इन्स्टिच्युट अफ टेक्नोलोजी (NIT) कुरुक्षेत्रमा इलेक्ट्रोनिक्स तथा सञ्चार इन्जिनियरिङ अध्ययन गर्ने अवसर पाए। उनका अनुसार छात्रवृत्तिले आर्थिक सहयोगभन्दा बढी आत्मविश्वास र विश्वस्तरीय अवसर प्रदान गर्यो।
भारतमा अध्ययनका क्रममा उनले प्राविधिक ज्ञानसँगै नेतृत्व, टोली व्यवस्थापन, समस्या समाधान र नवप्रवर्तनका सीप विकास गरे। उनी एरोमोडेलिङ क्लबका संस्थापक सदस्यसमेत बनेका थिए। यिनै अनुभवले भविष्यमा उद्यमशील यात्राको आधार तयार गरिदियो।
इन्जिनियरिङ अध्ययनपछि कार्कीले सह–संस्थापक भाविन पटेलसँग मिलेर मुम्बईमा LenDenClub स्थापना गरे। उनले गाउँमा देखेको विश्वासमा आधारित ऋण प्रणालीलाई आधुनिक डिजिटल प्रविधिमा रूपान्तरण गर्दै लाखौँ मानिसलाई सहज वित्तीय पहुँच उपलब्ध गराउने लक्ष्य राखेका थिए।
कार्कीका अनुसार भारतको डिजिटल सार्वजनिक पूर्वाधार, नियामकीय व्यवस्था, लगानी वातावरण र विशाल बजारले फिनटेक क्षेत्रलाई तीव्र गतिमा विकास गर्न सहयोग पुर्यायो। “नेपालले मलाई जरा दियो, भारतले अवसर र मञ्च दियो,” उनले बताएका छन्।
उनी आज पनि नेपाल र भारतका नीति निर्माता, उद्यमी तथा नियामक निकायसँग सहकार्य गर्दै वित्तीय नवप्रवर्तन र उद्यमशीलता प्रवर्द्धनमा सक्रिय छन्। नयाँ पुस्तालाई सन्देश दिँदै कार्की भन्छन्, “छात्रवृत्तिको उद्देश्य केवल डिग्री हासिल गर्नु होइन, आफ्नो सोच र सम्भावनाको दायरा विस्तार गर्नु हो।”
उनको जीवन यात्राले अवसर र मेहनतको संयोजनले कसरी विश्वस्तरीय सफलता हासिल गर्न सकिन्छ भन्ने उदाहरण प्रस्तुत गरेको छ। खोटाङको एक सामान्य शिक्षक परिवारका छोराले प्राप्त गरेको एउटा छात्रवृत्ति आज करोडौँ मानिसको आर्थिक पहुँच विस्तार गर्ने माध्यम बनेको छ।








प्रतिक्रिया दिनुहोस्