काठमाडौं, १९ जेठ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारका गतिविधिमाथि प्रभावकारी निगरानी राख्ने र संसदीय भूमिकालाई थप सशक्त बनाउने उद्देश्यसहित ‘छाया सरकार’ गठनको प्रस्ताव सार्वजनिक गरेको छ।
कांग्रेसले संसदीय दलका नेता भीष्मराज आङ्देम्बेलाई छाया प्रधानमन्त्रीको जिम्मेवारी दिने प्रस्ताव गर्दै विभिन्न मन्त्रालयका लागि छाया मन्त्रीहरूको टुंगो लगाएको जनाएको छ। छाया सरकारले सरकारका नीति, कार्यक्रम र निर्णयहरूको रचनात्मक समीक्षा तथा प्रतिपक्षी भूमिकालाई व्यवस्थित बनाउने लक्ष्य राखेको छ।
प्रस्तावअनुसार प्रकाशसिंह कार्कीलाई छाया गृहमन्त्री, नरेन्द्रकुमार केरुङलाई छाया अर्थमन्त्री तथा सुनिलबहादुर थापालाई छाया परराष्ट्रमन्त्रीको जिम्मेवारी दिइएको छ। यस्तै, मोहन आचार्य छाया पूर्वाधार विकासमन्त्री, डा. फिर्दोष आलम छाया शिक्षा तथा खेलकुदमन्त्री र डा. चन्द्रमोहन यादव छाया स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री प्रस्तावित भएका छन्।
त्यसैगरी विष्णुबहादुर खड्का छाया उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री, डा. प्रमिला गच्छदार छाया कृषि, वन तथा वातावरणमन्त्री तथा खम्मबहादुर खाती छाया कानुन, न्याय तथा संसदीय मामिलामन्त्रीका रूपमा प्रस्तावित छन्। खड्ग शाहीलाई छाया रक्षामन्त्री र मनमाया विश्वकर्मालाई छाया सूचना तथा सञ्चारमन्त्रीको जिम्मेवारी दिने प्रस्ताव गरिएको छ।
कांग्रेसले गीता गुरुङलाई छाया युवा, श्रम तथा रोजगारमन्त्री, सन्दीप रानालाई छाया विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री, सन्तोष सुब्बालाई छाया ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री तथा डा. गंगालक्ष्मी अवाललाई छाया महिला, बालबालिका, लैङ्गिक तथा सामाजिक सुरक्षामन्त्री बनाउने प्रस्ताव अघि सारेको छ।
यस्तै, जनकराज गिरीलाई छाया भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री र योगेश गौचनलाई छाया संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्रीको जिम्मेवारी दिने खाका कांग्रेसले तयार गरेको छ।
कांग्रेसले छाया सरकारमार्फत सरकारका कामकारबाहीको नियमित अनुगमन, नीति विश्लेषण र वैकल्पिक दृष्टिकोण प्रस्तुत गर्दै प्रतिपक्षको भूमिकालाई थप प्रभावकारी बनाउने जनाएको छ।








प्रतिक्रिया दिनुहोस्