नेपालको राजनीति अहिले अत्यन्तै तरल र संवेदनशील मोडमा उभिएको छ। २०८२ सालको भदौमा भएको राजनीतिक उथलपुथल, जेनजी आन्दोलनको राप र त्यसपछि बनेको सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारले आगामी २०८२ फागुन २१ गतेका लागि तय गरेको निर्वाचन केवल एउटा नियमित प्रक्रिया मात्र होइन नेपाली राजनीतिक दलहरूका लागि आफ्नो गुमेको साख फिर्ता गर्ने अन्तिम अवसर र अस्तित्वको लडाइँ पनि हो। यस्तो बेला दलभित्र देखिने अन्तरघात कुनै व्यक्तिलाई हराउने अस्त्र मात्र नभई, समग्र पार्टी र लोकतान्त्रिक प्रणालीलाई नै धराशायी बनाउने आत्मघाती कदम साबित हुन सक्छ।
अहिले परम्परागत शक्ति सन्तुलन हल्लिएको छ। एकातिर पुराना र स्थापित दलहरू नेपाली कांग्रेस, नेकपा एमाले, नवगठित नेकपा (नेकपा माओवादी केन्द्र) प्रतिको जनआक्रोश बढ्दो छ भने अर्कोतिर नयाँ राजनीतिक शक्ति र स्वतन्त्र उम्मेदवारहरूको उदयले चुनावी प्रतिस्पर्धालाई बहुआयामिक बनाएको छ। २०८२ को यो निर्वाचनमा मतदाताहरू विगतका तुलनामा निकै सचेत र निर्मम देखिएका छन्। सामाजिक सञ्जालको बढ्दो प्रभाव र सुशासनको तीव्र चाहनाले गर्दा अबका मतदातालाई पुरानै आश्वासनले मात्र रिझाउन असम्भव छ।
यस्तो जटिल परिस्थितिमा जब कुनै पार्टीले आफु भित्रको अन्तरघात सामना गर्नुपर्छ, तब त्यो दलको हार निश्चित हुन्छ। विगतका निर्वाचनहरूका तथ्यांकले के देखाउँछन् भने, बाहिरी प्रतिस्पर्धीले भन्दा आफ्नै दलका सहयात्रीबाट हुनेब्यवहार र खुट्टा तान्ने प्रवृत्तिले गर्दा कयौँ योग्य उम्मेदवारहरू थोरै मतान्तरले पराजित भएको हामीले देखेका छौ।
अन्तरघात भनेको निर्वाचनको बेला आफ्नै पार्टीको आधिकारिक उम्मेदवारलाई हराउन गरिने आन्तरिक र खुला षडयन्त्र हो। यसका स्वरूपहरू विभिन्न हुन सक्छन्, आफ्नै उम्मेदवारको प्रचारप्रसारमा सहभागी नहुने र कार्यकर्तालाई निष्क्रिय बनाउने।अनि भित्रभित्रै विपक्षी वा बागी उम्मेदवारलाई भोट हाल्न लगाउने। आन्तरिकरुपमा उम्मेदवारको चरित्र हत्या गर्ने वा नेतृत्वसँगको विवादलाई अतिरञ्जित गरेर मतदातामा अविश्वास फैलाउने।
अन्तरघातले केवल एउटा निर्वाचन क्षेत्रमा हार निम्त्याउँदैन, यसले समग्र संगठनको चेन अफ कमाण्ड र कार्यकर्ताको विश्वास तोडिदिन्छ। जब एक इमानदार कार्यकर्ताले यस्ता दर्दनाक हर्कत देख्छ, उसको पार्टी भित्रनै आफुले सम्मान गरेको र बिस्वास गरेको पात्रलेनै विपक्षीसँग साँठगाँठ गरिरहेको छ,आफ्नैलाई सकाउने तानाबाना बुनिरहेको छ तब उसको राजनीतिप्रतिको आस्था नै समाप्त हुन्छ।पार्टीप्रतिको समर्पणमा प्रश्न उठ्न थाल्छ एकअर्का प्रतिको सम्माननै गुम्ने अवस्था आउछ ।
आफ्नो पार्टी ,आफ्नो दल र आफ्नो चिन्ह महत्वपुर्ण भन्ने निष्ठावानहरुको लागि यस्ता हर्कतले बिचलन ल्याउन सक्छ । त्यसैले पार्टीका नेता कार्यकर्ताहरुले बुझ्नु पर्ने महत्वपुर्ण कुरा लोकतन्त्रमा दलभित्र छलफल, बहस र असन्तुष्टि हुनु स्वाभाविक र आवस्यक छ। टिकट वितरणमा अन्याय भएको महसुस हुनु, नेतृत्वको शैली मन नपर्नु वा गुटगत विभेद हुनु कार्यकर्ताका जायज गुनासा हुन । तर, ती गुनासाहरूलाई सम्बोधन गर्ने उपयुक्त थलो पार्टीको आन्तरिक बैठक हो, निर्वाचनको मैदान होइन।
देश जलेर खरानी बनेको अवस्थामा हुन गइरहेको निर्वाचनलाई विवेक नपुर्याइ लहडमा गरिएको स्वतन्त्र नागरिकको एक मतले पनि प्रश्न गर्नेछ ।
यस्मा दल नेता र कार्यकर्ता सचेत रहनुपर्छ ।त्यसैले विद्रोह र अन्तरघातबीचको रेखालाई बुझ्न जरुरी छ। यदि कसैलाई नेतृत्वको कार्यशैली चित्त बुझेको छैन भने उसले पार्टीभित्रै संघर्ष गर्नुपर्छ वा नैतिक रूपमा बाहिरिनुपर्छ। तर, पार्टीको नाम, झण्डा र स्रोत–साधन प्रयोग गरेर भित्रभित्रै विपक्षीलाई सघाउनु या आफ्नै उमेदवारलाई हराउन खोज्नु अराजकताको पराकाष्ठा हो। यसले पार्टीलाई त क्षति पुर्याउँछ नै, त्यस्तो गर्ने व्यक्तिको आफ्नै राजनीतिक भविष्य पनि अन्धकार बनाउँछ। किनकि, आफ्नैलाई धोका दिनेलाई विपक्षीले पनि उपयोग मात्र गर्छ, विश्वास कहिल्यै गर्दैन।
त्यसैले पार्टीका सबै नेता कार्यकर्ता सचेत बनेर आफ्नो पार्टीलाई मजबुत बनाउन लाग्नु पर्ने हुन्छ । यसपटक स्वतन्त्र नागरिकहरुले समेत मतदान गर्दा बिवेक पुर्याउनु पर्ने अवस्था छ । देश जलेर खरानी बनेको अवस्थामा हुन गइरहेको निर्वाचनलाई विवेक नपुर्याइ लहडमा गरिएको स्वतन्त्र नागरिकको एक मतले पनि प्रश्न गर्नेछ ।
आगामी निर्वाचनमा जेन(जी र युवा मतदाताहरूको निर्णायक भूमिका रहनेछ। उनीहरूले दलभित्रको किचलो र सत्ताको लुछाचुँडीलाई निकै नजिकबाट नियालिरहेका छन्। यदि पुराना दलहरूले यसपटक आफुभित्र एकता देखाउन सकेनन् भने, मतदाताले तिनलाई इतिहासको पानामा सीमित गरिदिने खतरा छ।
युवा पुस्ताले पार्टी भन्दा देश र व्यक्ति भन्दा विचार खोजिरहेको बेला दलका कार्यकर्ताहरूले व्यक्तिगत तुष पोखेर बस्ने समय छैन। आज पार्टी जोगियो भने मात्र भोलि आफ्ना मुद्दाहरू उठाउने ठाउँ रहन्छ। संगठन नै नरहे नेता हुने ठाउँ पनि रहँदैन। त्यसैले, यो निर्वाचन पार्टी जोगाउने र लोकतन्त्रलाई पुनर्जीवित गर्ने अभियान हुनुपर्छ। बुझ्नु पर्ने कुरा अन्तरघात रोक्न केवल कार्यकर्तालाई उपदेश दिएर मात्र पुग्दैन, नेतृत्वले पनि न्यायोचित व्यवहार गर्नुपर्छ ।
न्यायोचित टिकट वितरण गुटको आधारमा भन्दा पनि उम्मेदवारको योग्यता, लोकप्रियता र त्यागको आधारमा टिकट दिइनुपर्छ।तर त्यो समय अवधि सकिएको छ । अव टिकट नपाएका वा अन्यायमा परेका नेता(कार्यकर्तासँग नेतृत्वले सिधा संवाद गरी उनीहरूको सम्मानजनक व्यवस्थापनको ग्यारेन्टी गर्नुपर्छ।तर केही पार्टीमा त्यो देखिएको छैन । चुनावमा होमिएका नेता कार्यकर्ताको बिषयमा समेत अनर्गल प्रचार भैरहेको छ यस्तो बचपना तुरुन्त रोकिनु पर्छ । र समिक्षा पनि हुनुपर्छ ।
अन्तरघात गर्नेहरूलाई तत्काल कारबाही गर्ने र पार्टीप्रति इमानदार हुनेहरूलाई पुरस्कृत गर्ने संस्कृति बसाल्नुपर्छ।
यसपटकको निर्वाचन सामान्य राजनीतिक प्रतिस्पर्धा मात्र होइन, नेपाली राजनीतिको शुद्धीकरणको एउटा कडी हो। कुनै पनि पार्टीका नेता तथा कार्यकर्ताले यो बुझ्न जरुरी छ कि— अन्तरघात भनेको विपक्षीको जित होइन, आफ्नै पराजयको घोषणा हो।
यदि हामीले आफ्नै घरमा आगो लगायौं भने, त्यसको रापबाट हामी आफैँ पनि बच्न सक्ने छैनौं। व्यक्तिगत अहम्, पदको लालसा र सानातिना असन्तुष्टिहरूलाई त्यागेर पार्टीलाई जिताउन लागि परौं । चुनाव अगाडि जे भयो ,उमेदवार मनोनयनमा जस्ता अन्याय भए ती कुराहरुलाई थाती राखेर चुनाव सकिएपछि समीक्षा गर्ने, नेतृत्व बदल्ने वा नीति सुधार्ने कुरा गर्नुहोला तर अहिलेको प्रमुख जिम्मेवारी भनेको पार्टीको झण्डालाई उच्च राख्नु र जनताको विश्वास जित्नु हो।
त्यसैले पार्टीका नेता कार्यकर्ताहरुले यसपटक आपसमा अन्तरघात होइन, एकता गरौं। पार्टी जोगाउने र भविष्य निर्माण गर्ने जिम्मेवारी हामी सबैको काँधमा छ। फुटेर होइन जुटेर मात्र विजय सम्भव छ भन्ने सन्देश दिनुस ।








प्रतिक्रिया दिनुहोस्