पाल्पा, ६ माघ २०८२ । पाल्पा क्षेत्र नम्बर २ मा नेकपा (एमाले) ले अन्तिम समयमा फेरि पुरानै विजेता ठाकुर गैरेलाई प्रतिनिधिसभा सदस्य उम्मेदवार बनाउने निर्णय गरेको छ ।
एमाले पाल्पाका अध्यक्ष ओमबहादुर घर्तीका अनुसार, बिहानसम्म रामबहादुर राउतको टिकट फाइनल जस्तो थियो, तर प्रदेश अध्यक्ष राधाकृष्ण कँडेलले केहीबेरअघि गैरेको टिकट बोकेर पाल्पा आइपुगेका छन् ।
घर्तीले भने, “बिहानसम्म रामबहादुर राउतको टिकट फाइनल थियो । अहिले केहीबेरमा अध्यक्षले गैरेको टिकट लिएर आउनुभएको छ ।” ठाकुर गैरेले पनि आफूले टिकट पाएको पुष्टि गरेका छन् ।
यो निर्णय पार्टीभित्रको आन्तरिक छलफल, स्थानीय दबाब र कार्यकर्ताको असन्तुष्टिको नतिजा हो । गत शनिबार बेलुका उपाध्यक्ष विष्णुप्रसाद पौडेललाई पाल्पा २ बाट उम्मेदवार बनाउने निर्णय भएको थियो । आइतबार रूपन्देही २ बाटै पौडेललाई एकल सिफारिस भएपछि पाल्पा २ मा ओली निकट मानिएका रामबहादुर राउतलाई टिकट दिने गरी टुंगो लागेको थियो ।
तर अघिल्लो निर्वाचनमा ठाकुर गैरेले नै यो क्षेत्र जितेका थिए । उनलाई टिकट नदिएर राउतलाई अघि सारिएको भन्दै पार्टीभित्र र बाहिरबाट निकै आलोचना भएको थियो । स्थानीय नेता–कार्यकर्ताले गैरेको कार्यसम्पादन, क्षेत्रीय प्रभाव र निरन्तरताको माग गरेका थिए ।
अन्तिम घडीमा गैरेको टिकट फाइनल भएपछि पाल्पा एमालेमा राहतको सास चलेको छ । अब यो क्षेत्रमा गैरेले कसरी चुनावी मैदान सम्हाल्छन् र अन्य दलका उम्मेदवारहरूसँग कस्तो प्रतिस्पर्धा हुन्छ भन्ने हेर्न बाँकी छ ।
यो घटनाले एमालेको टिकट वितरण प्रक्रियामा स्थानीय भावना र आन्तरिक सन्तुलन कति निर्णायक हुन्छ भन्ने पनि स्पष्ट पारेको छ ।








प्रतिक्रिया दिनुहोस्