काठमाडौ १२ जेठ । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले समाजवादी क्रान्तिको तयारीका लागि आवश्यक पर्ने कम्युनिस्ट एकताको प्रक्रियामा अघि बढिरहेको बताएका छन्।
सोमबार ललितपुरमा आयोजित नेकपा माओवादी केन्द्र र नेपाल समाजवादी पार्टीबीच पार्टी समायोजन कार्यक्रममा अध्यक्ष प्रचण्डले विभिन्न उतारचढावका बीच आजको दिनसम्म आइपुगेको बताउँदै नेसपासँगको पार्टी एकता, समायोजन र एकीकरण जे भए पनि सार एउटै रहेको स्पष्ट गरे।
अध्यक्ष प्रचण्डले गम्भीर रूपमा समाजवादी क्रान्तिको तयारीमा आफूहरू लागिरहेको उल्लेख गरे । उनले २०६४ सालको निर्वाचनमा प्राप्त अभिमत जोगाउन नसक्दा पार्टी विभाजित भएको र त्यसले सर्वहारा वर्ग तथा श्रमजीवी जनतामाथि ठूलो क्षति पुगेको बताए । उक्त विभाजनले शहीद र बेपत्ता योद्धाहरूको सपना नराम्रोसँग तरङ्गित भएको उनको धारणा छ।
संविधान घोषणा भइसकेपछि फेरि एकताको प्रक्रिया सुरु भएको र आफूहरू सबै त्यो प्रक्रियामा अघि बढिरहेको अध्यक्ष प्रचण्डले दाबी गरे । समाजवादी आन्दोलन अघि बढ्दै जाँदा एकीकरण, समायोजन र ध्रुवीकरणको प्रक्रिया निरन्तर अघि बढ्ने उनले विश्वास व्यक्त गरे ।
उनले भने, २०६४ को निर्वाचनमा प्राप्त अभिमत जोगाउन सकेनौँ, पार्टी विभाजित भयो। त्यो विभाजनले नेपाली सर्वहारा वर्ग, श्रमजीवी जनताका लागि ठूलो क्षति भयो। हाम्रा महान शहीद र बेपत्ता योद्धाहरूको सपना नराम्रोसँग तरङ्गित भए। संविधान घोषणा भइसकेपछि फेरि एकताको प्रक्रिया सुरु भयो। हामी सबै त्यो प्रक्रियामा अघि बढिरहेका छौँ। आगामी दिनमा समाजवादी आन्दोलन अघि बढ्दै जाँदा एकीकरण, समायोजन र ध्रुवीकरणको प्रक्रिया निरन्तर अघि बढ्ने विश्वास छ।
अध्यक्ष प्रचण्डले नेसपासँगको समायोजन कम्युनिस्ट एकताको ठूलो सुरुआत भएको पनि बताएका छन्।







प्रतिक्रिया दिनुहोस्