ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कंचनजंघाको काखमा सिरीजंघा पर्यटन महोत्सवसगै जलबायु परिवर्तनको अध्ययन


अर्जून मादेन लिम्बू

नेपालको सुदुर पुर्वोत्तरमा रहेको जिल्ला ताप्लेजुङमा रहेका ९ स्थानीय निकायहरुमध्ये सबैभन्दा पर्वमा पर्दछ सिरीजंघा गाउँपालिका । भारतको सिक्किम राज्यसंग जोडिएको सिरीजंघा गाउँपालिका नेपालका ७ सय ५३ स्थानीय तहहरुमध्ये पर्यटकिय दृष्टिकोणले निकै प्रचुर संभावना भएको पालिका हो भन्दा अत्युक्ति हुदैन । ८,५८६ मिटर अग्लो विश्वको तेस्रो तथा नेपालको दोस्रो सर्वोच्च हिमशिखर कंचनजंघा यहि गाउँपालिकामा पर्दछ । लिम्बू भाषा, लिपिका महान् सर्जक, संरक्षक तथा प्रचारक त्येअङ्सी सिरीजंगाको जन्म यहि भएको हो । उनको जन्म सन् १७०४ मा सिरीजंघा गाउपालिका वडा नं ४, तेल्लोकमा रहेको एउटा ओडारमा भएको थियो । सन् १७४१ मा लिम्बू भाषा, लिपि र मुन्धुमबारे ज्ञान बाँड्दै पश्चिम सिक्किमको मार्ताम गाउँ पुगेका बेला थासाङ लामाहरुले सिरीजंगाको हत्या गरेका थिए । उनको सम्मानमा नेपाल सरकारले २०४९ सालमै हुलाक टिकट प्रकाशन गरेको छ । मातृभाषा, लिपिका पहिलो शहिद मानिने सिरीजंगाको योगदानलाई आत्मसात गर्दै पालिकाको नामाकरण सिरीजंघा गाउँपालिका गरिएको हो ।

सिरीजंघाको गौरव, कंचनजंघा भन्ने मुल नारा बोकेको यो गाउँपालिकाको समृद्धिको एउटा मुख्य आधार कंचनजंघा हिमाल बन्न सक्नेमा कुनै शंका छैन । संघीय सरकारसंगको लागत साझेदारीमा पालिकाले कंचनजंघा साहसिक पदमार्ग निर्माण गरेको छ । जुन भ्रमण या पदयात्रामा रुचि राख्नेहरुका लागि एक पटक पुग्नैपर्ने गन्तव्य हो । यहाँबाट मकालुदेखि कंचनजंघासम्मका मनोरम हिमश्रृखलाहरुको अवलोकन गर्न सकिन्छ । समुद्री सतहबाट २३०० मिटरको उचाइमा रहेको सिरीजंघा गाउँपालिका वडा नं. ८, याम्फूदिनको आम्जी खोलाबाट सुरु हुने यो पदमार्गबाट नयाँ झोरेनी, दुन्दु डाँडा, चैराम, राम्जेर हुदै ओक्ताङ देउराली पुगिन्छ । करीव ४७०० मिटरको उचाइमा रहेको ओक्ताङ देउराली कंचनजंघा हिमश्रृखला दृष्यावलोकनका लागि उत्कृष्ठ स्थल मानिन्छ । चैत्र, बैशाखमा यो पदमार्गमा यात्रा गर्दा बनैभरि राताम्य फुलेका लालीगरासको मनमोहक सौन्दर्य, चराचुरुङ्गीहरुको मधुर चिरबिर, डाँफे, मुनाल, कस्तुरी, याक, चौंरीदेखि रेड पाण्डा, हिमचितुवाजस्ता दुर्लभ वन्यजन्तुको अवलोकन गर्ने अवसर, वरिपरि शान्त पहाड र अगाडि विश्वप्रसिद्ध कंचनजंघा हिमश्रृखला । साँच्चै मन लोभ्याउने गन्तव्य हो यो !
विश्वको सर्वोच्च शिखर सगरमाथा, शान्तिका दूत भगवान बुद्धको जन्मभूमि लुम्बिनीदेखि अनुपम प्राकृतिक सुन्दरता, जैविक, सांस्कृतिक, धार्मिक र भौगोलिक विविधता बोकेको हाम्रो देश नेपालमा पर्यटनको विकास र विस्तारको संभावना अत्याधिक छ ।

समुन्द्रलाई नछोएको भौगोलिक अवस्था अनि देशमा औद्योगिकरण र अन्य आधारहरु तयार नभएकाले पर्यटन क्षेत्र नै नेपालको समृद्धिका लागि भरपर्दो, उत्तम र दीर्घकालीन माध्यम हो । नेपालमा पछिल्लो समय पर्यटन प्रबर्द्धनका लागि स्थानीय, प्रदेशदेखि संघीय तहसम्मै मेला, महोत्सवहरु आयोजना गर्ने “ट्रेण्ड” नै चलेको छ । पर्यटकिय गन्तव्यहरुको प्रबर्द्धन गर्न यस्ता कार्यक्रमहरु कति प्रभावकारी बनिरहेका छन् ? त्यो अर्को अध्ययनको विषय हुनसक्ला । यसैबीच पुर्वी नेपालको ताप्लेजुङ जिल्लामा पर्ने सिरीजंघा गाउँपालिकाले भने अहिलेको विश्वव्यापी चिन्ता र चासोको विषय बनेको जलबायु परिवर्तनको असरबारे अध्ययन तथा अवलोकन गर्ने योजनासहित कंचनजंघा साहसिक पदमार्गमा पर्ने नयाँ झोरेनीमा आगामी बैशाख १३ देखि १५ गतेसम्म सिरीजंघा पर्यटन महोत्सव ०८२ आयोजना गर्ने तयारी गरेको छ । आन्तरिक तथा बाह्य पर्यटन प्रबर्द्धन गर्ने उद्देष्यका साथ पालिकाद्धारा आयोजना हुने उक्त महोत्सव अन्तरगत कंचनजंघा साहसिक पदमार्ग अवलोकन कार्यक्रम, कंचनजंघा साहसिक हाफ म्याराथन प्रतियोगिता २०८२, चौरी, याक प्रबर्द्धन तथा प्रदर्शन, माउण्टेन साइकिलिङ, कला, साहित्य तथा संगीत कार्यक्रमहरु आयोजना हुनेछन् ।

महोत्सवमार्फत एक उत्कृष्ठ पर्यटकिय गन्तव्यका रुपमा कंचनजंघा साहसिक पदमार्गको प्रबर्द्धनसंगै त्यस क्षेत्रमा साहसिक खेलहरुको सम्भाव्यताको सुरुवात पनि हुनेछ । महोत्सवकै दौरान कंचनजंघा हिमश्रृखला र आसपासमा परेको जलवायु परिवर्तनको अवसरबारे अध्ययन तथा अवलोकन हुने बताइएको छ जुन निकै महत्वपुर्ण र सान्दर्भिक देखिन्छ । जलवायु परिवर्तनजस्तो अति गम्भीर, सबै सचेत र उत्तरदायी बन्नुपर्ने विषयलाई स्थानीय सरकारले उठाउनु निकै प्रशंसनीय कदम हो । पछिल्लो समय जलवायु परिवर्तनको उच्च जोखिममा नेपालका हिमालहरु छन् । जसको प्रत्यक्ष असर देखिन थालिसकेको छ । कुनै बेला सेताम्यै देखिने हिमालहरु अहिले काला पहाडमा परिणत भएका छन् । हिमरेखा माथि सर्दै गएको छ । जल तथा मौसम विज्ञान विभागको तथ्याङ्क अनुसार नेपालमा बर्षेनी ०.०५६ डिग्री सेल्सियसका दरले तापक्रम वृद्धि भइरहेको छ । तापक्रम वृद्धिको प्रमुख कारण हरितगृह ग्यास उत्सर्जनलाई मानिन्छ । उद्योग, कलकारखाना, खनिज इन्धनको अत्याधिक उपयोग, डढेलो, बनविनाश आदिका कारण उत्सर्जन हुने कार्वनडाइअक्साइड, मिथेन, नाइट्रस अक्साइडजस्ता ग्यासहरुलाई हरितगृह ग्यास भनिन्छ । बढ्दो तापक्रमका कारण नेपालका विश्वप्रसिद्ध हिमालहरु आगामी केही बर्षभित्रै हिउविहिन हुने खतरा रहेको अनुसन्धानकर्ताहरुले दावी गरेका छन् । यसबाट निम्तिने प्राकृतिक विपत्ति र पर्यटन क्षेत्रमा पर्ने प्रभाव निकै भयावह हुने देखिन्छ ।महोत्सवको क्रममा स्थानीय चौरी, याक पालक कृषकहरुलाई प्रोत्साहन गर्न चौरी, याक प्रबर्द्धन तथा प्रर्दशन कार्यक्रम पनि राखिएको छ । उनिहरुमध्ये एक जनाले सर्वोत्कृष्ठ र अर्को एक कृषकले स्वान्त्वना पुरस्कार प्राप्त गर्नेछन् । लोपोन्मूख बन्दै गएको याक, चौरीको प्रबर्द्धनमा सिरीजंघा गाउँपालिका आफैले पहल गर्दै आएको विगत छ । चौरी प्रबर्द्धन कार्यक्रममार्फत गाउँपालिकाले चौरीको नस्लसुधार र वृद्धिविकासका लागि बजेट उपलव्ध गराएको बाजेकै पालादेखि चौरीपालन गर्दै आएका सिरीजंघा–८, याम्फूदिनका गुरुङ परिवारका नाती पुस्ताका डम्बरबहादुर गुरुङ बताउँछन् । उनी याम्फूदिन चौरीपालक कृषक समुहका अध्यक्ष समेत हुन् ।

चौरीको घीउ, छुर्पी, रौ आदि स्थानीय बजारमै खपत हुन्छन् भने चौरी, याकका बाच्छाबाच्छीको मुख्य बजार भने तिब्बतको सीमावर्ती क्षेत्रहरु नै हो ।ताप्लेजुङ जिल्ला पर्यटकिय हिसावले निकै उच्च संभावना भएको जिल्ला हो । धार्मिक दृष्टिकोणले याक्थुङ लिम्बूहरुले मुन्धुमी थलोका रुपमा मान्ने मुक्कुमलुङ क्षेत्र भनौ या पछिल्लो समयमा प्रसिद्ध पाथीभरा देवीको मन्दिर, ओलाङचुङगोलामा रहेको ४ सय ५० बर्षभन्दा पुरानो ढिकी छ्योलिङ गुम्बा, विश्वको तेस्रो सर्वोच्च शिखर कन्चनजंघा हिमश्रृखला, कुम्भकर्ण(फक्ताङलुङ) हिमाल, मनोरम तिम्बुङ पोखरी ताप्लेजुङमा रहेका प्रमुख पर्यटकिय आकर्षणका केन्द्रहरु हुन् । पर्यटकीय दृष्टिकोणले सिरीजंघा गाउँपालिकामा अनेक सम्भावना छन् ।

कंचनजंघा हिमश्रृखला, कंचनजंघाको आधार शिविरसम्म पुग्ने साहसिक पदमार्ग, सिरीजंगा लिपिका सर्जक तथा संरक्षक शहिद त्येअङ्सी सिरीजंगा सिं थेवेको जन्मस्थान, मामांखेमा रहेको लिम्बू संग्राहलय र स्थानीय सांस्कृतिक सम्पदाहरुले आन्तरिक तथा बाह्य पर्यटकहरुको रोजाइमा सिरीजंघा गाउँपालिका पर्ने प्रवल सम्भावना छ । तर उचित प्रचारप्रसारको अभावमा महत्वपुर्ण गन्तव्यहरु पनि केही ओझेलमा परेजस्तो भान हुन्छ । विस्तारै नेपालमा पनि घुम्ने संस्कृतिको विकास हुदै गएको छ । यसको लाभ यहाँ रहेका पर्यटकिय स्थलहरुको उपयुक्त ढंगले प्रर्वद्धन र प्रचारप्रसार गर्न सकेको खण्डमा सिरीजंघा गाउँपालिकाले पक्कै हासिल गर्नेछ । पर्यटन पुर्वधारको एउटा महत्वकांक्षी योजनाका रुपमा हेरिएको कंचनजंघा साहसिक पदमार्गमा आयोजना हुने सिरीजंघा पर्यटन महोत्सव ०८२ ले सिरीजंघाको पर्यटन विकास र विस्तारको यो द्धार खोल्नसक्छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

दक्षिण तथा पूर्वी एशियामा बाढी पहिरोमा ज्यान गुमाउनेको सङ्ख्या साढे ११ सय नाघ्यो

सम्बन्धित

‘राजनीतिक कुलत’बारेको सैद्धान्तिक दृष्टिकोण

प्राध्यापक कृष्ण पोखरेलसँगको विशेष अन्तर्वार्ताः जेनजी आन्दोलन र वर्तमान राजनीतिको उपज

यसरकारण जनयुद्धसँग जेन–जी आन्दोलन जोडिएको छः प्रचण्ड

जेन–जी पुस्ताको आक्रोश निरन्तर चल्ने आँधी हो

नेपाल सङ्क्रमणकाल: भारतले केवल मौन समर्थन मात्र दिनुपर्छ

ओली बहिर्गमनसँगै राष्ट्रपतिको कोर्टमा बलः तत्काल सर्वपक्षीय छलफल र निकास

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com