काठमाडौं । फेसबुकमार्फत आकर्षक रोजगारीको अवसर भन्दै अन्तर्वार्ता गरेका काठमाडौंको सुकेधारास्थित एसिया पावर रिक्रुटमेन्ट कन्सल्टेन्ट प्रालिमाथि अनुसन्धान सुरु भएको छ ।
वैदेशिक रोजगार विभागले आइतबार मेनपावरमा छापा मारेर अन्तर्वार्ता रोकेको सो मेनपावरमाथि थप अनुसन्धान अघि बढाएको हो ।
केही दिनदेखि सो मेनपावरले फेसबुकमार्फत साउदी अरवस्थित अर्चीरोदन कम्पनीमा आकर्षक रोजगारी भन्दै विज्ञापन गरेका थिए । करिब ३ सयजना युवाहरु अन्तर्वार्ताका लागि लाइन बसिरहेकै बेला विभगको टोलीले मेनपावर कम्पनीमा छापा हानेको थियो ।
विभागले सो मेनपावरको काम करावाही रोकेर अनुसन्धान अघि बढाएको जानकारी दिएको छ ।
अन्तर्वार्ताका लागि लाइनमा बसेका अधिकांश युवाले अर्चीरोदन कम्पनीका लागि अन्तर्वार्ता दिन आएको बताएका छन् । उनीहरुले फेसबुकमार्फत थाहा पाएको बताएका छन् ।
तर, मेनपावर कम्पनीले भरेको फर्ममा भने गल्फ एसिया कन्ट्याक्टिङ कम्पनी लगायतमा जानका लागि भनेर लेखिएको भेटिएको छ ।
सो मेनपावरले अर्चीरोदन कम्पनीका लागि कामदार लैजान विभागबाट पूर्वस्वीकृति नलिएको र डिमाण्ड लेटर समेत नलिएको पाइएको छ ।
विभागबाट गएको शम्भुकुमार कटुवाल नेतृत्वको टोलीले तत्काललाई अन्तर्वाता रोक्न निर्देशन दिएको छ । विभागले केही राहदानी नियन्त्रणमा लिएको छ । विभागबाट गएको टोली प्रमुख कटुवालले थप अनुसन्धान गरिने जानकारी दिए ।
सो मेनपावर कम्पनीका अध्यक्ष लालबहादुर थापाले भने आफूहरुले पूर्वस्वीकृति लिएरै अन्तर्वार्ता गरिएको दावी गरे । तर, उनले अर्चीरोदन कम्पनीका लागि पूर्वस्वीकृति लिएको कुनै कागजात भने देखाउन सकेनन् ।
पूर्वस्वीकृति नलिई धमाधम अन्तर्वार्ता, वैदेशिक रोजगार विभागले मार्यो छापा







प्रतिक्रिया दिनुहोस्