काठमाडौँ, १६ मंसिर । स्कुले छात्राको मृत्युपछि विरोधमा उत्रिएका विद्यार्थीहरूको प्रदर्शन अनियन्त्रित बन्न थालेको छ । कैलाली प्रशासनद्वारा जारी निषेधाज्ञा तोड्दै उनीहरू शुक्रबार प्रदर्शनमा उत्रिएका छन् ।प्रदर्शनमा रहेकाहरूमध्ये प्रहरीले पाँच जनालाई पक्राउ गरेको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी शिवराज जोशीले बताएका छन् ।बिहीबार बिहान ग्रेडरले कुल्चिएर धनगढीस्थित पञ्चोदय मावि कक्षा ८ मा अध्ययनरत १४ वर्षीया छात्रा चेतना साउँदको घटनास्थलमै मृत्यु भएको थियो । छात्राको मृत्युपछि विद्यार्थीहरू प्रर्दशनमा उत्रिएका थिए ।
अवस्था तनाबग्रस्त बन्न थालेपछि जिल्ला प्रशासन कार्यालय कैलालीले बिहीबार साँझ ७ बजेदेखि अनिश्चितकालीन निषेधाज्ञा जारी गरेको छ ।जिल्ला प्रहरी कार्यालयमा मृतकका अभिभावकहरुसँग छलफल चलिरहेको भए पनि सडकमा उत्रिएका विद्यार्थीहरूको प्रदर्शन अनियन्त्रित रहेको पञ्चोदय मावि अभिभावक संघका अध्यक्ष ज्योति भट्टले बताए । ‘
परिस्थितिको ख्याल गर्दै आन्दोलन अनियन्त्रित हुन नदिन पहल गर्दै आएको भए पनि सम्हाल्न सकिएको छैन,’ उनले भने ‘विभिन्न ठाउँबाट प्रदर्शनमा रहेका विद्यार्थीहरू र पछिल्लो परिस्थितिले झन् चिन्ता बढाएको छ ।’मृतकका अभिभावक कानुनी उपचार खोज्न सहमत हुँदै आन्दोलनमा नलाग्न भनिरहेको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी शिवराज जोशीले बताए । ‘परिस्थितिलाई सहज बनाउनु सबैको दायित्व हो,’ उनले भने ।धनगढीमा विभिन्न विद्यालयका विद्यार्थीहरू शुक्रबार बिहानैदेखि निशेधाज्ञा तोड्दै प्रदर्शनमा उत्रिएका छन् । बैतडी घर भई धनगढी–५ तारानगर बस्ने छात्रा साउँदलाई हसनपुर पिपलचौतारा नजिक पानीपिच गरिरहेको ना १ क ९७५ नम्बरको कालिका कन्स्ट्रक्सनको ग्रेडरले ब्याक गर्ने क्रममा कुल्चिएर मृत्यु भएको थियो । चालक चितवन भरतपुर महानगरपालिका २८ का २७ वर्षीय विमल कुमाल प्रहरीले नियन्त्रणमा छन् ।








प्रतिक्रिया दिनुहोस्