पाकिस्तानका, ३ भदौ । पाकिस्तानका प्रधानमन्त्री इमरान खानले देशका सेनाप्रमुख जनरल कमर जावेद बाज्वाको कार्यकाल तीन वर्ष थपिदिएका छन् ।
प्रधानमन्त्री कार्यालयद्वारा जारी गरिएको एक विज्ञप्तिका अनुसार जनरल बाज्वाको कार्यकाल बढाउने निर्णय सुरक्षा स्थितिलाई ध्यानमा राखेर लिइएको हो । सेनाप्रमुखको कार्यकाल बढाइने कुरा केही महिनादेखि चलिरहेको थियो । भारतले भारत प्रशासित कश्मीरको संविधान प्रदत्त विशेषाधिकार खोसेपछि भारत र पाकिस्तानबीच सम्बन्ध बिग्रिएको छ । यही बेला पाकिस्तानी सेना प्रमुखको कार्यकाल बढाइएको हो । बाज्वाले नोभेम्बर २०१६ मा सेनाको नेतृत्व सम्हालेका थिए ।
उनलाई तत्कालीन प्रधानमन्त्री नवाज शरिफले सेनाप्रमुखमा नियुक्त गरेका थिए। यो कार्यकाल उनको वर्तमान कार्यकाल पूरा हुने दिनदेखि सुरु हुनेछ । निकै लामो समयपछि यस्तो समय आएको छ जब पाकिस्तानको राजनीतिक र सैन्य नेतृत्वले एकै दिशामा देशको भविष्यबारे सोचिरहेका छन् । तर सोही देशका विपक्षी नेताहरूले भने इमरान खानले सेनाको सहयोगमा सत्ता हासिल गरेको आरोप लगाएका छन्, जसलाई खानको पार्टी पी टी आईले खण्डन गर्दै आएको छ ।
प्रतिक्रिया दिनुहोस्