काठमाडौं, ६ साउन । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले सरकारविरुद्ध आन्दोलन चर्काउने चेतावनी दिनुभएको छ । सभापति देउवाले मिडिया काउन्सिल विधेयक, राष्ट्रिय मानव अधिकार आयोग सम्बन्धि विधेयक परिमार्जन नगरे संसद बैठक नै अवरुद्ध पार्ने पार्टीको अडान पनि दोहो¥याउनुभयो ।
विपी जयन्तिको अवसर पारेर सहीद स्मृति प्रतिष्ठानले आज काठमाडौंमा आयोजना गरेको कार्यक्रममा उहाँले सरकारले प्रजातन्त्रमाथि निरन्तर प्रहार गरिरहे कांग्रेस सडक आन्दोलनमा जान बाध्य हुने पनि स्पष्ट पार्नुभयो । सभापति देउवाले विपी कोइरालाको बहुआयामिक व्यक्तित्वको पनि चर्चा गर्नु भएको थियो ।
नेपाली काँग्रेसका उपसभापति विमलेन्द्र निधिले विपी कोइरालाले कम्युनिष्टहरुको अधिनायकवादी शासनविरुद्ध प्रजातान्त्रिक समाजवादी विचारधारालाई अघि सारेको बताउनुभयो । उहाँले विपी कोइरालाको समाजवादी विचारधाराकै बाटोबाट मात्रै संघीय लोकतान्त्रिक गणतन्त्रलाई अघि बढाउन सकिने पनि स्पष्ट पार्नुभयो ।
कार्यक्रममा काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले पनि विपी कोइरालाले नेपालको राजनीतिक तथा साहित्यिक क्षेत्रमा पु¥याउनु भएको योगदानको स्मरण गराउनु भएको थियो ।
प्रतिक्रिया दिनुहोस्