काठमाडौं, २९ असार । अविरल वर्षासँगैको बाढी पहिरोमा परी मृत्यु हुनेको संख्या ४८ पुगेको छ । बाढी पहिरोमा परी २७ पुरुष र २१ जना महिलाको मृत्यु भइसकेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
बाढी पहिरोमा परी २५ जना घाइते भएका छन् । ३५ जना बेपत्ता छन् । प्रहरीले अहिलेसम्म एक हजार १ सय ४ जनाको उद्धार गरेको छ ।
बाढी पहिरोमा परेकाको उद्धार र व्यवस्थापनका लागि २७ हजार नेपाल प्रहरी खटाइएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । सबैभन्दा धेरै उपत्यकामा आठ हजार ८५६ जना प्रहरी परिचालन गरिएको छ ।
बाढी पहिरोमा उपत्यकामा ८ जनाको मृत्यु भएको छ । जसमा ललितपुरमा पाँच जना र काठमाडौँमा तीन जनाको मृत्यु भएको छ । प्रदेश नम्बर १ मा १७ जनाको मृत्यु भएको छ । प्रदेश नम्बर २ मा ७ जना, प्रदेश नम्बर ३ मा १२ जना, प्रदेश नम्बर ५ मा दुई र कर्णालीमा दुई जनाको मृत्यु भएको छ ।
प्रतिक्रिया दिनुहोस्