नयाँ दिल्ली , २४ असार । नेपालमा लगानीको सम्भावनाबारे भारतको नयाँदिल्लीमा छलफल भएको छ । नयाँ दिल्लीमा आयोजित ‘एडभान्डेज नेपाल कन्क्लेभ’मा सहभागी वक्ताहरुले नेपालमा कसरी लगानी बढाउन सकिन्छ भनेर छलफल गरेका हुन् । भारतस्थित नेपाली दूतावास, पीएडची चेम्वर, र सीएनआईको संयोजनमा भएको छलफलमा सन् २०२१ सम्म भारत र नेपाल बीच द्विपक्षीय व्यापार १० बिलियन डलर क्रस गर्ने विश्वास गरिएको छ । दुई अर्थव्यवस्थाको बीच व्यापार र लगानीका आधारमा १० बिलियन डलर पार गर्ने अनुमान गरिएको हो ।
कार्यक्रममा भारतका लागि नेपाली राजदूत निलम्बार आचार्यले प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा सरकार गठन भएपछि भारतसँगको सम्बन्ध नयाँ उचाइमा पुगेको बताउनुभयो । राजदूत आचार्यले नेपाल र भारतबीचको खुला सिमानाका कारण दुई देशबीचको आपसी सम्बन्ध समाजिक स्तरमा उच्च रहेको जिकिर गर्नुभयो । आचार्यले भारतको तिब्र आर्थिक विकासबाट नेपालले लाभ लिने बताउँदै भारतीय लगानीकर्तालाई नेपालमा लगानी गर्न आग्रह गर्नुभयो । उहाँले नेपालले भारतको पूर्ण सहयोग र समर्थनमा नेपालमा विकास निर्माणले गति लिने विश्वास व्यक्त गर्नुभयो । प्रधानमन्त्री नरेन्द्र मोदीको नेतृत्वमा रहेको भारतले नेपालको विकासलाई हरतरहले सहयोग गर्ने आशा व्यक्त गर्नुभयो ।
कार्यक्रममा भारतीय विज्ञहरुले व्यापार र लगानीका अवसरहरु खोज्न नेपाललाई आग्रह गरेका थिए । नेपालेको विकास निर्माणमा सघाउन भारतलाई गरेको निमन्त्रणाप्रति आभार व्यक्त गर्दै उनीहरुले नेपालमा लगानीको सुरक्षित वातावरण बन्नुपर्नेमा जोड दिएका थिए । यसरी विचार व्यक्त गर्नेहरुमा पूर्व भारतीय राजदूत केभी राजन, रणजित राय, अतुल मिश्रा, चौधरी गु्रपका निर्वाण चौधरी लगायतका थिए ।
प्रतिक्रिया दिनुहोस्