काठमाडौं १५ असार । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली सर्वोच्च नेता किम जोङ उनबीच आकस्मिक भेटवार्ता भएको छ ।
राष्ट्रपति ट्रम्प र नेता किमबीच उत्तर र दक्षिण कोरियाको असैन्य सीमा क्षेत्र पानमुङजोङमा वार्ता भएको हो । जी २० को शिखरसम्मेलन सकेर दक्षिण कोरियाको भ्रमण गर्नुअघि राष्ट्रपति ट्रम्मले ट्वीट गर्दै किम जोङ उनसंग सीमाक्षेत्रमा हात मिलाएर दुई मिनेटमात्र कुराकानी गर्न चाहेको बताएका थिए ।
लगत्तै उत्तर कोरियाली नेता किमले सो प्रस्ताव स्वीकार गरेका थिए । दुई नेताबीच ५० मिनेट कुराकानी भएको अन्तराष्ट्रिय संचार माध्यमहरुले जनाएका छन् । छलफल पछि किम प्योङयाङ फर्किसकेका छन् । आजको भेट अगाडि ट्रम्पले किमलाई अमेरिका भ्रमणको निम्तो समेत दिएका छन् ।
अमेरिकी राष्ट्रपति उत्तर कोरियाको भूमिमा पसेका थिए । उनले उत्तरको भूमिमा २० पाइला हिंडेका थिए । छलफलपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरिया अमेरिकासँग फेरि परमाणु हतियार सम्बन्धी छलफल गर्न तयार भएको बताएका छन् ।
गतवर्षको जुन महिनामा ट्रम्प र किमबीच पहिलो शिखर वार्ता भएको थियो । त्यसपछि यसै वर्षको फेब्रुअरीमा ट्रम र किमबीच भियतनामको राजधानी हनोइमा दोस्रो शिखर वार्ता भएको थियो ।
तर, अमेरिकाले आफुमाथि राष्ट्र संघले लगाएको आंशिक प्रतिबन्ध समेत हटाउन नमानेको भन्दै उत्तरकोरियाले थप वार्ता नगर्नेभन्दै अमेरिकाको आलोचना गरेको थियो । अमेरिकाले भने उत्तर कोरिया पूर्ण निशस्त्रीकरणको पक्षमा नरोको आरोप लगाएको थियो । आजको छलफलले हनोइ वार्ता पछि चिसिएको अमेरिका उत्तरबीचको सम्बन्धलाई पुनः सामान्यिकृत गर्न सहयोग पुग्ने विश्लेषण गरिएको छ । राष्ट्रपतिको पदमै रहंदा उत्तर कोरियामा पाइला टेक्ने ट्रम्प अमेरिकी इतिहासकै पहिलो राष्ट्रपति बनेका छन् ।
प्रतिक्रिया दिनुहोस्