काठमाडौं, २९ जेठ । आन्तरिक मामिला तथा कानूनमन्त्री शालिकराम जम्मरकट्टेलले सङ्घीय, प्रदेश र स्थानीय सरकारले आ–आफ्नो अधिकारलाई सही ढङ्गले बुझ्न नसक्दा समस्या भएको बताउनुभएको छ ।
आजदेखि यहाँ शुरु भएको प्रदेश नं ३, प्रदेश परिषद्को दोस्रो बैठकमा उहाँले भन्नुभयो, “तीनै तहको सरकारको काम, कर्तव्य र अधिकारका बारेमा संविधानले प्रष्ट व्यवस्था गरे पनि विकास निर्माणका सवालमा ती सरकारबीच उच्चस्तरको सहयोग, समन्वय र सहकार्य हुन नसक्नु दुःखद् कुरा हो ।”
मन्त्री जम्मरकट्टेलले स्थानीय सरकारले प्रदेशसभा सदस्यसँग सहकार्य गरेन भन्ने गुनासो आएको बताउँदै तीनवटै सरकारबीच सहयोग, समन्वय र सहकार्य हुनुपर्नेमा जोड दिनुभयो ।
प्रदेश नं ३ का मुख्यसचिव आनन्दराम ढकालले मुलुकको विकास र समृद्धिका लागि तीनवटै सरकारका बीच उच्चस्तरको सहयोग, समन्वय र सहकार्य हुनुपर्ने आवश्यकता औँल्याउनुभयो ।
प्रतिक्रिया दिनुहोस्