
झापा,१८ जेठ । भद्रपुर ६ स्थित भद्रपुर एग्रो राईस मिलमा शनिवार विहान आगलागी हुदाँ करिब दुई करोड बढीको क्षति भएको छ ।
व्यवसायी सन्तोष र राजेश गुप्ताले भर्खरै सञ्चालनमा ल्याएको राईस मिलमा आगलागी हुदाँ मेसिनरी सामान जलेर नष्ट हुँदा उक्त मुल्य बराबरको क्षति भएको वडा प्रहरी कार्यालय भद्रपुरका प्रहरी निरीक्षक यमकुमार श्रेष्ठले जानकारी दिए । शनिवार बन्द रहेको राईस मिलमा विहान साढे ९ बजे एक्कासी आगलागी भएको थियो ।
उद्योग बन्द रहेकोले मानविय क्षति नभएपनि उद्योगका केहि मेसिनरी सामान पूर्ण रुपमा जलेर नष्ट भएको प्रहरी निरीक्षक श्रेष्ठले बताए । आगलागी विद्युत चुहावट भई लागेको प्रारम्भिक अनुसंन्धानबाट खुल्न आएको उनले बताए ।
मिलमा लागेको आगलागी भद्रपुर नगरपालिकाको दुई वटा र बिर्तामोड नगरपालिकाका एउटा दमकलले एक घण्टामै नियन्त्रणमा लिएको थियो । राइस मिल नजिकै पराजुली ग्यास उद्योग सञ्चालनमा रहेकोले आगो नियन्त्रणका लागि प्रहरीले ठूलै जनशक्ति परिचालन गरेको थियो ।
यता स्थानीयका अनुसार बन्द उद्योग रहेपनि वलडिङ मिस्त्रीहरु रड तथा टिना लगाउने काम गर्दै आइरहेको बताए । सोही वलडिङ मेसिनबाट विद्युती सर्ट भई आगो लागेको हुनु पर्ने स्थानीय प्रत्यक्षदर्शीहरुको भनाई ।








प्रतिक्रिया दिनुहोस्