
काठमाडौं ,२१ बैशाख । सञ्चार तथा सूचना प्रविधिमन्त्री बाँस्कोटाले काभ्रेपलाञ्चोकस्थित गैरसरकारी संस्था महासङ्घ नेपालको १६औँ वार्षिक साधारणसभा तथा ८औँ जिल्ला अधिवेशनलाई आज धुलिखेलमा सम्बोधन गर्दै नेपाल सरकारका प्रवक्ता गोकुलप्रसाद बाँस्कोटाले नेपालको सार्वभौमिकसत्ता खलबल्याउने गतिविधि हुन थालेकाले गैरसरकारी संस्थालाई नियमन गर्न लागिएको बताएका छन् ।
‘बाह्य सहयोग कति हार्डवेरमा, कति सफ्टवेयरमा लेखाजोखा हुनुपर्छ’, उनले भने, ‘हामी गैससलाई एउटै डालोमा पनि राख्दैनौँ, छलफल गरौँला, नीति कानून बनाउने बेलामा तपाइँहरुको सुझावको अपेक्षा गर्छौँ ।’
रेडक्रस जस्तो पवित्र संस्थामा समेत ‘हिनामिना’ देखिएपछि सबैलाई विश्वास गर्न सक्ने वातावरण नभएको उनले जिकिर गरे ।
उनले भने, ‘बाह्य सहयोग स्वीकार्नुपर्छ तर नेपालको अखण्डता र सार्वभौमिकतामा आँच पुग्ने काम गर्न पाइँदैन ।’ उनले सरकारको उद्देश्य गैससलाई नियमन गर्ने नै भएको उल्लेख गर्दै पारदर्शी तवरले काम गर्न गैससलाई कसैले नरोक्ने बताए ।
मन्त्री बाँस्कोटाले सामाजिक सञ्जाल पनि निमयन हुनुपर्ने बताए । निर्वाचनको स्वच्छतामाथि प्रश्न उठेपछि फेसबुकका जन्मदाताले आफैँले नियमन गर्नुपर्दछ भनेका छन्, यसप्रति गम्भीर हुनु आवश्यक छ ।’ उनले लोकतन्त्रमा छाडातन्त्र हावी हुन सक्ने खतरा बढेकाले सामाजिक सञ्जाल नियमन गर्नुपर्ने बताए।
दिगो विकास लक्ष्य (एसडीजी)का १७ उद्देश्यमध्ये सुख एउटा महत्वपूर्ण पाटो भएकाले सरकारको अभियानमा समृद्धि थपिएको उनको धारणा थियो । मन्त्री बाँस्कोटाले विकासमा सत्तापक्ष र प्रतिपक्षको साझेदारी रहनुपर्ने बताए । ‘तर चारतारा र लालतारा मिलेर अंशबण्डा गर्नुपर्दैन’, उनले थपे, ‘‘एउटा सानो घर होस्, एउटा गाई होस्, भन्नेजस्ता नेपालीलाई सुखी बनाउने नेपालको पहिलो जननिर्वाचित प्रधानमन्त्री बिपीका कुरा अब वर्तमान प्रधानमन्त्री केपीले पूरा गर्दै हुनुहुन्छ ।’
मन्त्री बाँस्कोटाले फरक प्रसङ्गमा ‘बालुवाटार प्रकरण सन्त नेताबाटै शुरु भएकाले’ प्रतिपक्षले यसका विषयमा ठूला भाषण गर्दा स्वयंलाई अप्ठेरो पर्ने जिकिर गरे । वैदेशिक रोजगारीको आकर्षणसँगै ‘तेल भिसा’ले परिवार बिखण्डनतिर जाने खतरा बढेकाले यसप्रति सरकार सचेत बन्दै गएको उनले बताए ।
सो अवसरमा मन्त्री बाँस्काटाले गैसस काभ्रेपलाञ्चोकका पूर्वअध्यक्ष कृष्णचन्द्र आचार्य र शङ्खबुद्ध लामालाई सम्मान गरेका थिए ।



















प्रतिक्रिया दिनुहोस्