काठमाडौं , १९ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीले सहकारीहरुले ठूलो मात्रामा कृषि उत्पादन गर्नुपर्ने बताउनुभएको छ ।
६२ औँ राष्ट्रिय सहकारी दिवसको अवसरमा आयोजित कार्यक्रमको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले सहकारीले ठूला फाँटमा धेरै उत्पादन गरेर किसानलाई पनि समृद्ध बनाउनु पर्नेमा जोड दिनुभएको छ ।
‘हाम्रो अहिलेको समस्या भनेको खेतीको खण्डिकरण हो । यसलाई रोक्नु पर्दछ र चक्ला खेती सुरु गर्नु पर्दछ’, प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘भूगोल अनुसार जे बाली उत्पादन हुन्छ । त्यो ठूलो मात्रामा उत्पादन गर्नुपर्दछ । जसले गर्दा बजारीकरणमा समस्या हुँदैन ।’
किसानहरुले कहिले सब्जी सडकमा फालेको, कहिले दूध पोख्नु परेको उदाहरण दिँदै प्रधानमन्त्री ओलीले सानो मात्राको उत्पादनले यस्तो समस्या आएको बताउनुभयो । ‘एक डोको गोबी किन्न कोही आउँदैनन् ,एक ड्रम दूध किन्न पनि ग्राहक भेटिँदैन’, प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘गाउँभरि एकै प्रकारकोे सब्जी उब्जाउने हो र धेरै टन दूध उत्पादन गर्ने हो भने ग्राहक खेतखेतै र गोठगोठै पुग्छन् । किसानले उचित मूल्य पनि पाउँछन् ।’ प्रधानमन्त्री ओलीले विषादीका कारण नेपालीको स्वास्थ्य बिग्रँदै गएको बताउनुभएको छ । ‘खाने प्लेट सफा, चमेज सफा, भाडा सफा तर चामल, सब्जीचाहिँ विषादी मिसिएको छ भने त्यसले स्वास्थ्यलाई फाइदा पुग्दैन’, प्रधानमन्त्री ओलीले भन्नुभयो ।
फलफूलका बोट विरुवामा नयाँ–नयाँ प्रयोग गर्ने नाममा त्यसको मौलिक गुण स्वाद र आकार नै विलय हुन थालेको प्रधानमन्त्री ओलीको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस्