काठमाडौं, १९ चैत । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष प्रचण्ड हुरीबतास प्रभावित बारा र पर्साको निरीक्षणमा जाँदै हुनुहुन्छ । आँधीहुरीले बारा र पर्साको अवस्था कष्टकर बनेपछि अध्यक्ष प्रचण्ड प्रभावित क्षेत्रको अवलोकनका लागि मंगलबार त्यसतर्फ जान लाग्नुभएको हो ।
आँधीहुरी प्रभावित क्षेत्रको अवस्था बुझ्न प्रचण्ड मंगलबार बिहान ११ बजे हवाई यात्रामार्फत त्यसतर्फ जान लागेको प्रचण्डको सचिवालयले जनाएको छ । उहाँको सचिवालयका अनुसार, प्रचण्डले हावाहुरी पीडितको अवस्थाबारे सुरुमा बारा पुगेर जानकारी लिने कार्यक्रम तय भएको छ । प्रचण्ड हावाहुरी प्रभावित पर्सा पनि जाने कार्यक्रम छ । उहाले पीडित परिवारसँग भेटघाट गर्नुका साथै राहतसमेत वितरण गर्ने योजना बनाउनुभएको छ ।
यद्यपि, विभिन्न दलका भातृसंगठन सोमबार नै राहत तथा उद्धारका लागि प्रभावित क्षेत्र पुगिसकेका छन् । वाइसियलले संकलन गरेको राहत प्रचण्डको हातबाट वितरण गर्ने कार्यक्रम पनि छ ।
गृह मन्त्रालयको पछिल्लो जानकारी अनुसार, हालसम्म २७ जनाको ज्यान गइसकेको छ । कैयन घाइतेको विभिन्न अस्पतालमा अहिले उपचार भइरहेको छ । हावाहुरीले घर भत्काउँदा प्रभावितहरुको जनजीवन कष्टकर छ ।
प्रतिक्रिया दिनुहोस्