काठमाडौं, १८ चैत । बारा र पर्सामा आइतबार राति आएको भयानक हावाहुरीका कारण ठूलो जनधनको क्षति भएपछि प्रभावित क्षेत्रमा निरीक्षण गर्न पुग्नुभएका प्रधानमन्त्री केपी शर्मा ओली राजधानी काठमाडौं फर्कनु भएको छ ।
प्रधानमन्त्री ओलीले निरीक्षण गरेर फर्कने क्रममा वीरगञ्ज उपक्षेत्रीय अस्पतालमा उपचार हुन नसकेका दुई घाइतेलाई उपचारका लागि आफूसँगै काठमाडौं ल्याउनु भएको हो ।
प्रधानमन्त्री ओलीले काठमाडौं ल्याएका दुवै घाइतेको अहिले वीर अस्पताल उपचार भइरहेको छ ।
हावाहुरी प्रभावित ठाउँको निरीक्षण गर्न पुग्नुभएका प्रधानमन्त्री ओलीले बारा र पर्साका तीन अस्पतालमा भर्ना भएका घाइते र उनीहरुका आफन्तलाई भेटनुभएको थियो । बाराको कलैया अस्पताल र पर्साको वीरगञ्जस्थित नारायणी उपक्षेत्रीय अस्पताल र नेशनल मेडिकल कलेजमा पुगेर प्रधानमन्त्री ओलीले घाइते र घाइतेका आफन्त भेट गर्नुभएको हो ।
प्रधानमन्त्री ओलीले आँधीबाट अति प्रभावित फेटा गाउँपालिकाको हवाई निरीक्षण गर्नुभएको थियो भने लगत्तै अस्पताल गएर बिरामी र बिरामीका आफन्तलाई भेट्नु भएको थियो । प्रधानमन्त्री ओलीले अस्पताल प्रशासनलाई घाइतेको उपचारमा कुनै कसर बाँकी नराख्न निर्देशन समेत दिनुभएको छ।
प्रधानमन्त्री ओलीले प्रभावितहरुलाई सरकार साथमा रहेको भन्दै धेरै नआत्तिन सुझाउनु भएको छ । ‘नआत्तिनुस् सरकार तपाईंकै साथमा छ, यो विपत्तिले पारेको असर मिलेर सामना गर्ने हो,’ प्रधानमन्त्री ओलीको भनाई उधृत गर्दै प्रेस संयोजक अधिकारीले भन्नुभयो ।
हावाहुरीले बारा र पर्सामा ठुलो जनधनको क्षती पुगेपछि गृहजिल्ला झापाको सवै कार्यक्रम स्थगित गरी प्रधानमन्त्री ओली बारा र पर्सा पुग्नु भएको थियो ।
प्रतिक्रिया दिनुहोस्