काठमाडौं , १८ चैत । विभिन्न कार्यक्रमलाई सम्वोधन गर्न पूर्वी जिल्ला मोरङ र झापामा रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओली बारा र पर्साको घटनापछि समय छोट्याएर राजधानी काठमाडौं आउदै हुनुहुन्छ ।

आइतबार आधा दर्जन कार्यक्रमका लागि पूर्व पुग्नुभएका प्रधानमन्त्री ओली राति बारा र पर्सामा कम्तिमा ३१ जनाको ज्यान लिने गरी आएको हावाहुरीको घटनापछि राजधानी फर्कन लाग्नु भएको हो ।
उहाँले राजधानी फर्केर घटनाबारे आवश्यक निर्णय लिने बुझिएको छ । प्रधानमन्त्री ओली आएलगत्तै मन्त्रिपरिषद् बैठक बस्ने र बारा र पर्साको घटनाबारे केन्द्र सरकारका तर्फबाट निर्णय लिने तयारी भएको एक मन्त्रीले जानकारी दिनुभयो ।
‘ यस घटनाबाट प्रधानमन्त्री ज्यू निकै चिन्तित हुनुहुन्छ ।त्यसैले पूर्वको कार्यक्रम छोट्याएर राजधानी आउँदै हुनुहुन्छ । र मन्त्रीपरिषद् बैठककै लागि अरु कार्यक्रममा नजाने जानकारी गराउनु भएको छ,’ एक मन्त्रीले भन्नुभयो । प्रधानमन्त्री ओलीले प्रदेश सरकारलाई घाइतेको उपचार र उद्धारका कुनै पनि कसुुर नराख्न आग्रह गर्नुभएको छ ।
उद्धार तथा राहतमा कुनै कमि हुन नदिन गृहमन्त्रीको निर्देशन
गृहमन्त्री रामबहादुर थापाले आइतबार साँझ बारा र पर्सामा आएको भिषण हावाहुरीले ठूलो जनधनको क्षति पु¥याएको भन्दै दुःख प्रकट गर्नुभएको छ ।
गृहमन्त्रालयमा हालसम्म प्राप्त विवरणअनुसार २७ जनाको मृत्यु तथा करीब ७०० घाइते भएको भन्दै मन्त्री थापाले घटनालगत्तै राहत तथा उद्धारमा सुरक्षा निकाय परिचालन गरिएको जानकारी दिनुभयो । आज बिहान एक सूचनामार्फत् मन्त्री थापाले राहत, उद्धार तथा उपचारमा गम्भीर हुन तथा कुनै कमी हुन नदिन मातहतका निकायलाई निर्देशन दिएकोसमेत उल्लेख गर्नुभएको छ ।
उहाँले घटनामा परी मृत्युु भएकामा श्रद्धाञ्जलि व्यक्त गर्दै घाइतेको शीघ्र स्वास्थलाभको कामनासहित मृतक परिवारप्रति समवेदना प्रकट गर्नुभएको छ ।



















प्रतिक्रिया दिनुहोस्