सिरहा,२८ माघ । पूर्व प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधान संशोधनको पहल भैरहेको बताएका छन् ।
आज सिरहाको अर्नमा गाउँपालिका वडा नम्बर–१ महनौरमा निर्मित स्वास्थ्य चौकीको उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले मधेसी जनताको हक, अधिकारको पक्षमा संविधान संशोधनको लागि लगातार पहल गरिरहेको बताएका हुन् ।
उनले भने, ‘संविधानलाई मधेसी जनताको आवश्यकता अनुसार संशोधन गर्दै जाने भनेर प्रधानमन्त्री केपी ओली, मैले र उपेन्द्र यादवले हस्ताक्षर गरेका छौँ ।’
मधेसको विकास निर्माणमा सरकारको ध्यान कम हुनेछ कि भनेर शंका नगर्न आग्रह गर्दै प्रचण्डले मधेसको विकास गरेर मात्रै मधेसी जनताको आकांक्षालाई सम्बोधन गर्न सकिने बताए । ‘नेकपाले मधेशमा पूर्वाधार निर्माणका प्याकेज अगाडि सारेको छ’ प्रचण्डले भने, ‘तराई मधेसको निम्ति झण्डै तीन अर्ब रुपैयाँको विशेष व्यवस्था भइसकेको छ ।’
सिँचाई र खानेपानीको दीर्घकालीन ढंगले समस्या समाधानका लागि सम्बन्धित मन्त्रालयमा कुरा भैसकेको प्रचण्डले बताए । ‘अहिले भर्खरै उद्घाटन भएको स्वास्थ्यचौकीमा एमबीबीएस डाक्टरको व्यवस्था होस् भन्ने तपाईंहरुको मागमा म सकारात्मक छु’पुर्ब प्रधानमन्त्री प्रचण्डले भने, ‘सिराहा जिल्ला आँप उत्पादनमा नेपालकै अग्रणी जिल्ला हो ।
यहाँको आँपको माग विश्वभरि नै छ । सिरहालाई आँपको जोनको रुपमा विकास गर्न पहल गर्नेछु । धान खेतीका लागि पनि सिरहा उर्वर जिल्ला हो, धानलाई सुपरजोनको रुपमा विकास गर्न मेरो तर्फबाट सहयोग रहन्छ ।’
‘अहिलेको संविधानले जनतालाई शिक्षा, स्वास्थ्य, रोजगारीलाई मौलिक अधिकारका रुपमा राखेको उनले दोहोर्याए । अहिले सरकारले मौलिक अधिकार कार्यान्वयनको प्रक्रिया सुरु बताउँदै प्रचण्डले उपचार नपाएर गरिबीको कारण अब कोही मर्नु नपर्ने उनको भनाई छ
प्रतिक्रिया दिनुहोस्