काठमाडौं,२६ माघ । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले सडक र नदीनालालाई थुकदानी बनाएका कारण सररफाईमा समस्या देखिएको बताएका छन ।
वाग्मती सफाइ महाअभियानको ३ सय हप्ता पुगेको अवसरमा काठमाडौंको शंखमूलमा शनिबार आयोजित विशेष कार्यक्रमलाई सम्बोधन गर्दै ज्ञवालीले नदी र सडकलाई फोहोर विर्सजन गर्ने थलो बनाउने हाम्रै कार्यशैलीका कारण नदीनालाहरु फोहर र प्रदुषित बनेको बताएका हुन ।
ज्ञवालीले मुलुक बाहिर जाँदा चकलेट खाएर खोल कोटको खल्तीमा राख्ने अनि नेपालको सिमा प्रवेश गर्ने वित्तिकै पान खाएर रोडमा थुक्ने प्रवृत्तिको अन्त्य नहुन्जेल सफाई अभियानले पुर्णता पाउन नसक्ने टिप्पणी गरेका छन । उनले भने“काठमाडौँ के छिर्यौ हामी, नेपालको सिमाना के नाग्छौ हामी पिचित्त थुक्छौ पान खाएर । फोहोर गर्छौ हामी त्यहीँ । वाग्मती र सबै नदीनालाहरु र सडकहरुलाई हामीले फोहोर विर्सजन गर्ने थलो बनाउँछौ । यो कुरामा हामी जागरुक हुन जरुरी छ । ”
हरेक नागरिकले आ आफ्नो ठाउबाट नदी नालालाई सफा राख्ने प्रयत्न गरेमा सबै नदी प्रणालीहरु आफै सफा, स्वच्छ हुने समेत उनले बताए । उनले सरसफाई अभियानमा राज्यले नेतृत्वदायि भूमिका निर्वाह गर्नुपर्ने उल्लेख गरे ।
नदी प्रणालीसंग जोडिएका जग्गाहरु अतिक्रमणमा परेकाले अतिक्रमणबाट मुक्त गरि नदी प्रणालीलाई आफ्नै सहज प्रवाहमा बग्ने वातावरण श्रृजना गर्नुको साथै ढल प्रशोधन पछि मात्रै पानी नदीमा मिसाउने र नागरिक स्वंमले नै सरसफाईमा ध्यान दिने हो भने वाग्मती सफाई अभियानले सार्थकता पाउने उनले बताए ।
उनले भने“अब घरमा ऐना राख्न नपरोस् । वाग्मतीको स्वच्छ जलमा हेरेर हामीले अनुहार सिंगार्न सकूँ, हाम्रो अनुहारलाई देख्न सकूँ । त्यो लक्ष हासिल गर्दा मात्रै र यो वाग्मतीको पानी पिउन सक्ने बनाउदा मात्रै हाम्रो अभियानले सफलता प्राप्त गर्न सक्छ ।”
उनले वाग्मती सफाई अभियानमा जुटेका सबै संस्थाले सरकारले आजै सार्वजनिक गरेको नदी तथा अन्य सार्वजनिक क्षेत्रको सरसफाई सम्बन्धी कार्यविधि कार्यान्वय गर्दै अघि बढेमा नदीनालाको साथै शहर स्वच्छ हराभरा हुने विश्वास व्यक्त गरेका छन ।
प्रतिक्रिया दिनुहोस्