
काठमाडौं, २३ माघ । संघीय संसदका दुवै सदनको बैठक आज बस्दैछ । प्रतिनिधिसभाको आज बस्ने बैठकमा ४ मन्त्रीले सांसदहरुको प्रश्नको जवाफ दिने कार्यक्रम छ ।
गृहमन्त्री रामबहादुर थापा बादल, अर्थमन्त्री युवराज खतिवडा, वनमन्त्री शक्तिबहादुर बस्नेत र महिला तथा बालबालिका मन्त्री थममाया थापाले सांसदहरुको प्रश्नको जवाफ दिनुहुनेछ । गृहमन्त्री थापाले निर्मला पन्त प्रकरणको विषयमा जवाफ दिनुहुनेछ । उहालाई कांग्रेस सांसद डिला संग्रौलाले निर्मला पन्तको हत्यारा पत्ता नलागेको विषयमा मौखिक प्रश्न दर्ता गराउनुभएको छ ।
तर, सांसदहरुले सम्बन्धित विषयमा पुरक प्रश्नसमेत सोध्न पाउने व्यवस्था संसद नियमावलीमा छ। त्यस्तै, थापाले भक्तपुरमा एघार वर्षीय बालक निशान खड्काको अपहरणपछि हत्या भएपछिको इन्काउन्टरको विषयमा पनि जवाफ दिने कार्यक्रम छ । इन्टाउनलाई ’फेक’ भएको आरोप लाग्ने गरेको छ । कांग्रेसकै सांसद देवेन्द्र कँडेलले यससम्बन्धी प्रश्न दर्ता गराउनुभएको थियो ।
अछामको मंगलसेनमा नमराज विष्टको हत्यारा पक्राउ नपरेको विषय र मोरङमा खानेपानी ट्यांकीमा विषादी मिसाइएको घटनाको अनुसन्धानको विषयमा पनि गृहमन्त्री थापाले जवाफ दिनुहुनेछ ।
अर्थमन्त्री खतिवडाले पनि कांग्रेस सांसद संग्रौलाकै प्रश्नको जवाफ दिनुहुनेछ । संग्रौलाले नेपालमा रहेका बहुराष्ट्रिय कम्पनीले आफ्ना कर्मचारी र डिलरलाई विदेश भ्रमणमा पठाउ“दा विदेशी मुद्रा बाहिरिएको र त्यसलाई रोक्न भइरहेको पहलको विषयमा प्रश्न दर्ता गनुभएको छ । खतिवडाले कांग्रेसकै अर्का सांसद दिलेन्द्रप्रसाद बडुको प्रश्नको पनि सामना गर्नुहुनेछ । बडुले स्थानीय तहमा बैंकको शाखा नपुगेको विषयमा प्रश्न दर्ता गराउनुभएको छ ।
वनमन्त्री बस्नेतले भने नेकपाकै सांसद खगराज अधिकारीको प्रश्नको सामना गर्नुहुनेछ । अधिकारीले पोखरामा प्राणी उद्यम बनाउने योजनाको विषयमा प्रश्न दर्ता गराउनुभएको छ । महिला तथा बालबालिका मन्त्री थापाले भने सांसद सरिता न्यौपानेको प्रश्नको जवाफ दिनुहुनेछ । न्यौपानेले हिंसापीडित महिलाका लागि सातै प्रदेशमा आवास निर्माणको प्रगति माग्नुभएको छ ।
यस्तै आजै बस्ने राष्ट्रिय सभा बैठकमा सत्य निरुपण तथा मेलमिलाप आयोग र वेपत्ता छानविन आयोग संशोधन विधेयक पारित हुने कार्यसूचि रहेको छ ।



















प्रतिक्रिया दिनुहोस्