
काठमाडौं,२२ माघ । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले संसदीय समितिहरुले नेपाल टेलिकमको फोरजी सेवा विस्तारको काम अघि बढाउन नदिएको आरोप लगाउनु भएको छ ।
मन्त्री बास्कोटाले ६ वटाभन्दा बढि संसदीय समितिहरुले फोरजी सेवा संचालन गर्न नदिन तर्साउने, धम्क्याउने, हल्लाउने काम गरिरहेकोे भन्दै आक्रोश पनि व्यक्त गर्नु भयो । उहाँले नेपाल टेलिकमको फोरजी सेवा संचालन गर्न नदिएर कसको सेवा गर्न खोजेको (?) भन्दै संसदीय समितिहरुलाई प्रश्न पनि गर्नु भयो ।
फोरजी सेवा विस्तारमा आर्थिक अनियमितता भयो भनेर गलत आरोप लगाइएको दावी गर्दै मन्त्री बास्कोटाले त्यस्ता गलत खालको प्रचारसामू आफूले घुँडा नटेक्ने चेतावनी पनि दिनु भयो ।
मंगलबार नेपाल टेलिकमको १५ औं वार्षिकोत्सव कार्यक्रमको काठमाडौंमा उद्घाटन गर्दै उहाँले नेपाल टेलिकम भित्रकै केही व्यवस्थापक र इन्जिनियरहरुले रातिराति आफ्नो घरको पोल अरुलाई लगाउँदै ‘देश द्रोहीको जस्तो व्यवहार गरेको भन्दै सचेत रहन पनि आग्रह गर्नु भयो । मन्त्री बास्कोटाले नेपाल टेलिकमका कर्मचारीहरुलाई इमान्दार भएर काम गर्न पनि सचेत गराउनु भयो ।
मन्त्री बास्कोटाले नेपाल टेलिकमका कर्मचारीहरुलाई जनताको सेवामा समर्पित हुन पनि निर्देशन दिनु भयो । मुनाफा आर्जनलाई मुख्य लक्ष्य बनाएर अघि बढेको निजी क्षेत्रसँग जनताको सेवाका लागि समर्पित नेपाल टेलिकमको तुलना हुनै नसक्ने मन्त्री बास्कोटाको भनाई छ ।



















प्रतिक्रिया दिनुहोस्