काठमाडौं,२१ माघ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता एवम् पूर्व प्रधानमन्त्री झलनाथ खनालले प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसलाई आन्दोलन छोडेर मुलुक निर्माणको अभियानमा जुटन आग्रह गर्नु भएको छ ।
वरिष्ठ नेता खनालले मुलुकको आर्थिक उन्नतिका लागि रचनात्मक काम गर्न छाडेर आन्दोलन गरिरहे नेपाली काँग्रेस आफैं कमजोर हुँदै जाने चेतावनी पनि दिनु भयो ।
सोमबार स्वतन्त्र विद्यार्थी युनियन, आरआर क्याम्पसले काठमाडौंमा आयोजना गरेको रचनात्मक कार्यक्रममा बोल्दै उहाँले स्ववियू निर्वाचन तोकिएकै मितिमा सम्पन्न गर्न पनि सरकारसँग माग गर्नु भयो । उहाँले स्ववियू निर्वाचनपछि धकेल्ने प्रयास नगर्न पनि नेपाली काँग्रेसलाई सचेत गराउनु भयो ।
आफ्नो विद्यार्थी संगठन नेविसंघले हार्ने निश्चित भएपछि नेपाली काँग्रेसले स्ववियू निर्वाचन फागुन १४ गतेबाट पछि सार्ने प्रस्ताव अघि सारेको वरिष्ठ नेता खनालको दावी छ ।
वरिष्ठ नेता खनालले रचनात्मक ढंगले मुलुकको आर्थिक उन्नतिको काममा केन्द्रित हुन पनि पार्टीका सबै नेता, कार्यकतालाई आग्रह गर्नु भयो । मुलुकमा राजनीतिक क्रान्ति सकिएकाले अव आर्थिक उन्नतिको दिशामा केन्द्रित हुने बेला आएको वरिष्ठ नेता खनालको भनाई छ ।
प्रतिक्रिया दिनुहोस्