काठमाडौं, १३ असोज । कञ्चनपुरकी बालिका निर्मला हत्याकाण्डबारे उच्चस्तरीय छानविन समितिले पेस गरेको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै महेन्द्रनगरका बासिन्दाले धर्ना सुरु गरेका छन्।
महेन्द्रनगरको मदनचोकमा शनिबारदेखि बिहान ९ बजेदेखि साँझ ६ बजेसम्म अनिश्चितकालिन धर्ना सुरु भएको हो। निर्मला हत्याबारेको प्रतिवेदन सार्वजनिक गर्न दबाब दिन धर्ना बस्न बाध्य भएको अधिकारकर्मी माया नेगीले बताइन्।
उनले प्रतिवेदन सार्वजनिक गरेर दोषीलाई कारवाही नगरेसम्म धर्ना जारी रहने र थप आन्दोलन गर्ने चेतावनी दिइन्। मृतक निर्मलाका बुवा यज्ञराज पन्तले पनि तत्काल प्रतिवेदन सार्वजनिक गरेर दोषीमाथि कारबाही गर्न माग गरे। प्रतिवेदन लुकाउनुको अर्थ दोषीलाई बचाउने खेल हुन सक्ने उनको आशंका छ।
गृहमन्त्रालयले सहसचिव हरिप्रसाद मैनालीको नेतृत्वमा गत भदौ ७ गते गठन गरेको उच्चस्तरीय छानविन समितिले घटनाबारे एक महिना अध्ययन गरी प्रतिवेदन तयार गरेको थियो। उक्त प्रतिवेदन गृहमन्त्री रामबहादुर थापालाई बुझाइए पनि सार्वजनिक भएको छैन।
प्रतिक्रिया दिनुहोस्