काठमाडौं, २१ भदौं । तेस्रो चरणको स्थानीय तह निर्वाचन अन्तर्गत आज उम्मेदवार मनोनयन दर्ता सम्पन्न भएको छ ।
निर्वाचन तालिका अनुसार प्रदेश नम्बर २ का ८ जिल्लामा आज मनोनयन दर्ता हुने कार्यक्रम रहेको छ । दुई नम्बर प्रदेशका १ सय ३६ स्थानीय तहमा तेस्रो चरणमा असोज २ गते निर्वाचन हुन लागेको हो । निर्वाचन तालिका अनुसार आज बिहान १० बजेदेखि साँझ ५ बजेसम्म मनोनयन दर्ताको समय तोकिएको छ । तेस्रो चरणको निर्वाचनबाट ६ हजार ६ सय २७ जनप्रतिनिधि निर्वाचित हुने निर्वाचन आयोगले जानकारी दिएको छ ।
उम्मेदवार मनोनयनपछि सम्वन्धित निर्वाचन अधिकृतको कार्यालयले आज साँझ नै उम्मेदवारको प्रारम्भिक सूची प्रकाशन गर्नेछ । निर्वाचन तालिका अनुसार। दाबी विरोधको सूचनाका लागि भदौ २२ गतेसम्मको समय तोकिएको छ भने मनोनयन दर्तास्थलमै दाबी विरोधका सूचना दिनु पर्नेछ ।
उम्मेदवारले आफ्नो नाम फिर्ता लिन चाहेमा भदौ २३ गतेसम्मको समय तोकिएको छ भने निर्वाचन कार्यालयले भदौ २४ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरी चुनाव चिन्ह समेत प्रदान गर्ने कार्यतालिका अनुसार असोज २ गते निर्वाचन हुनेछ।
तेस्रो चरणमा एक महानगरपालिका, तीन उप–महानगरपालिका, ७३ नगरपालिका र ५९ गाउँपालिकामा निर्वाचन हुन लागेको हो ।
प्रदेश नम्बर २ मा दुई हजार एक सय ३६ मतदानस्थल र ३ हजार पाँच सय ७८ मतदान केन्द्रमा २ मा २६ लाख ६४ हजार ९ सय ५० मतदाताले मतदान गर्ने छन् ।
प्रतिक्रिया दिनुहोस्