काठमाडौ, १५ भदौ । नुवाकोट जिल्ला स्थायी घर भई हाल काठामडौस्थित गोकर्णेश्वर नगरपालिका–६ बौद नयाँ बस्ती बस्दै आएकी कुमारी वाईवा विगत एक वर्षदेखि जण्डिस रोगका कारण थलिएकी थिइन् । जण्डिसकै कारण उनको मंगलबार बिहान ज्यान गयो । उनको निधनसँगै तीन छोराछोरीको बिचल्ली भएको थियो । खर्च अभावकै कारण उपचार हुन नसकेर आमाले ज्यान गुमाएपछि अलपत्र बालिकालाई भने केन्द्रिय बाल कल्याण समिति काठमाडौले उद्धार गरेको छ ।
त्यसो त मान्छेको जन्म र मृत्यु स्वभाविक हो । जन्मेपछि एक दिन सबैले मर्नैपर्छ । तर, मरण कतिको सुखद त कतिको दुखद हुने रहेछ । नुवाकोट घर भई काठमाडौमा बस्दै आएकी कुमारी वाइवाले पनि त्यही नियति भोग्नु प¥यो । खर्च अभावमै उनले उपचार नपाएर ज्यान गुमाइन् भने ससाना लालाबाला पनि छाडेर गइन् । ५ देखि १० वर्ष उमेर समूहका तीन जना बालिकाले आमाको उपचार गर्न सक्ने अवस्था थिएन । जण्डिसले थलिएकी वाइवाको समयमै उपचार भएको भए बाँच्ने सम्भावना थियो । तर, उपचार नभएर वाइवाको ज्यान गएपछि तीन जना छोरीको विचल्ली भयो । कात्रो किन्ने पैसासमेत नभएपछि छरछिमेकीले अन्तिम संस्कारसम्म त गराए । तर, मर्ने मरेर गए पनि बाँचेका तीन छोरी बिहान के खाउँ साँझ कहाँको अवस्थामा पुगे । यस्तो अवस्था देखेर छिमेकी कमला राईले साँझ बिहान खानेबस्ने व्यवस्था मिलाएकी थिइन् ।
जे हुनु थियो त्यो भइसक्यो तर ३ जना १० वर्षीया ढोल्मा, ८ वर्षीया ममता र ५ वर्षीया विमला वाइवा बिचल्लीमा परे । उनीहरुको भविष्यको कुरा त कता हो कता, वर्तमान नै अनिश्चित थियो । यस्तो अवस्था देखेपछि एबीसी न्युज रिपोर्टरको पहलमा महिला तथा बालबालिका कार्यालय काठमाडौलाई घटनाको विस्तृत जानकारी गराएपछि तीनै जना बालिकाको उद्धार भएको छ । एबीसी न्युजको पहलमा बालिकाहरुको संरक्षणको जिम्मा लिएको छ । महिला तथा बालाबलिका कार्यालयले बुबा, आमामध्ये एक नभएका र विपन्न बालबालिकाई संरक्षण दिदै आएको बाल संरक्षणका अधृकृत इन्दिरा पौड्यालले बताइन् । गत वर्ष मात्रै १५ जना बालबालिकालाई संरक्षण दिएको र यो वर्ष पनि ९ जना बालबालिलाई संरक्षण दिएको बाल संरक्षणका अधिकृत पौड्यालले जानकारी दिइन् ।
देशको राजधानी, सबैको सबैतिर सहज पहुँच हुने स्थानमा पनि नागरिक सामान्य जण्डिसको औषधि नपाएर मर्न बाध्य छन् । ससाना नानीहरु विचल्लीमा परिरहेका छन् । यसले देशको कुनाकुन्दराको अवस्था कस्तो होला भन्ने प्रष्ट दृष्य देखाउँछ । जे भए पनि एबीसी न्युज रिपोर्टरको पहलमा आमाको जीवन रक्षा गर्न नसके पनि कलिला बालिकाहरुको उद्धारमा सहयोग पुगेको छ । अब सरकारले उनीहरुको शिक्षादीक्षामा उचित ध्यान दिएर उज्वल भविष्य निर्माणमा सघाउने अपेक्षा गर्न सकिन्छ । एबीसी न्युज पनि ती ससाना बालिकाको सुन्दर भविष्यको कामना गर्दछ ।
प्रतिक्रिया दिनुहोस्