काठमाडौं,२७ साउन । उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेलले कसैको असन्तुष्टिमा वर्तमान सरकार नढल्ने बताउनुभएको छ ।
अन्तराष्ट्रिय युवा दिवसको अबसरमा राष्ट्रिय युवा परिषद्ले आईतबार काठमाडौंंमा आयोजना गरेको कार्यक्रममा हिजोजस्तो ६–६ महिनामा सरकार परिवर्तन हुने अवस्था नरहेको भन्दै वर्तमान सरकारलाई नेपाली जनताले दुई तिहाई मत दिएको बताउनुभयो ।
उहाले मुलुक र नेपाली जनताको समृद्धिको लागि सरकार कटिबद्ध भएर अघि बढ्ने भन्दै प्रतिपक्ष दलले पनि सरकालाई समृद्धिको यात्रामा सहयोग गर्नुपर्ने बताउनुभयो ।
मन्त्री पोखरेलले मुलुक समृद्ध भएमा मात्र नेपाली जनता सुखी हुने र सरकारले आगामी पाँच वर्षमा नेपाली विदेश पलायनको अवस्थालाई अधिकांश रुपमा रोक्ने समेत धारणा राख्नुभयो ।
उहाले मुलुकको विकास र समृद्धिका लागि जनदवाव सृजना गर्न युवाहरुलाई आह्वान गर्नुभयो । उपप्रधानमन्त्री पोखरेलले युवाहरुको उचित परिचालन नगरी मुलुकलाई समृद्ध बनाउन नसकिने पनि स्पष्ट पार्नुभयो ।
कार्यक्रममा समाजमा उदाहरणीय काम गरेका युवाहरुलाई राष्ट्रिय युवा प्रतिभा सम्मानबाट सम्मान गरिएको थियो । नेपालमा सन् २००४ देखि युवा दिवस मनाउन लागिएको हो ।
संयुक्त राष्ट्रसंघको आह्वानमा रहेक वर्ष अगस्ट १२ का दिन विश्वभर युवा दिवस मनाउने गरिएको छ । विश्वमा अहिले १० देखि २४ वर्ष उमेरका एक अर्ब ८० करोड मानिस छन् । अहिले नेपालमा युवाको जनसङ्ख्या सबैभन्दा बढी ४० दशमलव ३५ प्रतिशत छ ।
प्रतिक्रिया दिनुहोस्