काठमाडौं, ७ भदौ । हाम्रो देशमा हरेक वर्ष जस्तै नयाँ सरकार बन्छ । र, हरेक नयाँ सरकारका प्रधानमन्त्री भारत भ्रमणमा जान्छन् । प्रधानमन्त्री भएपछि भारत भ्रमणमा जानु अकाट्य परम्परा जस्तै बनिसकेको छ । त्यस्तै परम्परालाई निरन्तरता दिदै प्रधानमन्त्री शेरबहादुर देउवा भारत भ्रमणमा छन् । प्रधानमन्त्री देउवाको भारत भ्रमणमा उल्लेख्य अजेण्डा त छैन । तर, प्रधानमन्त्री देउवाका लागि पाँच दिने भारत भ्रमणको स्क्याजुएल निक्कै टाइट छ ।
पाँच दिन भारत रहँदा प्रधनमन्त्री देउवाले उच्च स्तरीय राजनीतिक भेट सहित पूजाआरधना समेत गर्नेछन् । धर्ममा धेरै नै विश्वास राख्ने प्रधानमन्त्री देउवाले भारत भ्रमणको अन्तिम दिन महावोधी मन्दिरमा पूजाअर्चना गरेर नेपाल पर्कने छन् । प्रधानमन्त्री देउवा पाँच दिन भारतमा व्यस्त रहनेछन् । कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री निर्वाचित भएको तीन महिना पनि पुगेको छैन । चौथो पटक प्रधानमन्त्री निर्वाचित भएको तीन महिना नपुग्दै प्रधनमन्त्री शेरबहादुर देउवा भारत भ्रमणमा निस्केका छन् ।
भ्रमणको पहिलो दिन सरप्राइज
पाँच दिने भारत भ्रमणको क्रममा प्रधानमन्त्री देउवा बुधबार बिहान नेपाल वायुसेवा निगमको नियमित उडानबाट नयाँदिल्ली प्रस्थान गरेका थिए । भारती समकक्षी नरेन्द्र मोदीको मैत्रीपूर्ण निमन्त्रणामा प्रधानमन्त्री देउवा ४८ सदस्यीय उच्चस्तरीय प्रतिनिधिमण्डल सहित बिहिबार दिउँसै नयाँदिल्ली ओर्लीए । प्रधानमन्त्री देउवालाई इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा भारतीय विदेशमन्त्री सुष्मा स्वराजले स्वागत गरेका थिए ।
त्यसपछि प्रधानमन्त्री देउवा भारतीय राष्ट्रपति भवनमा केहीबेर विश्राम लिन पुगेका थिए । बुधबार नै नेपाली दूतावासले नयाँदिल्लीमा आयोजना गरेको छलफलमा प्रधानमन्त्री देउवा सहभागी भए । त्यसलगत्तै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले प्रधानमन्त्री देउवालाई सरप्राइज भेट दिएका छन् । प्रधानमन्त्री देउवा बिहिबार नै भारतका उद्योगी–व्यवसायीहरूको साझा संस्था एशोशिएटेड चेम्बर्स अफ कमर्श एण्ड इण्डस्ट्री अफ इन्डियाले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गरेका छन् । पाँच दिने भ्रमणको क्रममा प्रधानमन्त्री देउवाले पहिलो दिन सामान्य सम्बोधनमै बिताए ।
भ्रमणको दोस्रो दिन विशेष
भारत भ्रमणको दोस्रो दिन प्रधानमन्त्री देउवालाई राष्ट्रपति भवनमा भारती समकक्षी नरेन्द्र मोदीले औपचारिक समारोहबीच स्वागत गर्ने कार्यक्रम रहेको छ । त्यसपछि महात्मा गान्धीको समाधिस्थलमा पुगेर प्रधानमन्त्री देउवाले पुष्पहार अर्पण गरी अहिंसाका पुजारी गान्धीप्रति श्रद्धाञ्जलि अर्पण गर्ने कार्यक्रम तय भएको छ । बिहीबार नै प्रधानमन्त्री देउवासँग भारतका विदेशमन्त्री सुस्मा स्वराजले शिष्टाचार भेट गर्ने कार्यक्रम रहेको छ । त्यस लगत्तै, हैदरवाद हाउसमा दुवै देशका प्रधानमन्त्रीबीच सहयोगी रहित एक्लाएक्लै भेटवार्ता हुनेछ । दुई देशका प्रधानमन्त्रीबीचको भेटवार्तापछि हैदरावाद हाउसमा नै प्रतिनिधिमण्डलस्तरीय वार्ता हुनेछ ।
वार्तापछि प्रधानमन्त्रीद्वयको उपस्थितिमा सम्बन्धित अधिकारीले द्विपक्षीय समझदारी र सम्झौतामा हस्ताक्षर गर्ने कार्यक्रम रहेको छ । हस्ताक्षर लगत्तै, नेपाल–भारत प्रसारण लाइनको दूरनियन्त्रित यन्त्रबाट दुबै प्रधानमन्त्रीले शुभारम्भ गर्ने कार्यक्रम तय भएको छ । त्यसपछि, दुवै देशका प्रधानमन्त्रीले सञ्चारकर्मीलाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ । सम्बोधनपछि समकक्षी मोदीले हैदरावाद हाउसमा आयोजना गर्ने दिवाभोज कार्यक्रममा प्रधानमन्त्री देउवा सहभागी हुनेछन् । भ्रमणको दोस्रो दिन बिहिबार नै प्रधानमन्त्री देउवाले अपराह्न राष्ट्रपति भवनमा भारतका राष्ट्रपति रामनाथ कोबिन्द र उपराष्ट्रपति बेंकैया नैडूसँग बेग्लाबेग्लै शिष्टाचार भेट गर्ने कार्यक्रम रहेको छ । त्यसैगरी, प्रधानमन्त्री देउवासँग गृहमन्त्री राजनाथ सिंह, अर्थमन्त्री अरुण जेट्ली, भारतीय राष्ट्रिय कंग्रेसका अध्यक्ष तथा सांसद सोनिया गान्धी र पूर्वप्रधानमन्त्री मनमोहन सिंहले छुट्टाछुट्टै शिष्टाचार भेट गर्ने कार्यक्रम रहेको छ ।
बिहिबार साझ इण्डिया फाउण्डेशनले नेपाल–भारत सम्बन्धबारे आयोजना गर्ने अन्तक्र्रियामा सहभागी भएर प्रधानमन्त्री देउवा आफ्नो सम्मानमा भारतका लागि नेपाली राजदूत दीपकुमार उपाध्यायले आयोजना गर्ने रात्रिभोजमा सरिक हुने कार्यक्रम तय भएको छ ।
भ्रमणका तेस्रो दिन हैदरावार्द यात्रा
भ्रमणको दोस्रो दिन बिहिबार व्यस्त हुने प्रधानन्त्री देउवा तेस्रो दिन शुक्रबार भने फुर्सदमै रहनेछन् । शुक्रबार अपराह्न प्रधानमन्त्री देउवा विशेष विमानबाट हैदरावार्द प्रस्थान गर्नेछन् । हैदरवादमा तेलांगना र आन्ध्रप्रदेशका राज्यपाल इएसएल नरसिंहनसँगको भेटवार्ता तय भएको छ । त्यसपछि आफ्नो सम्मानमा राज्यपाल नरसिंहनले आयोजना गर्ने रात्रिभोजमा सरिक हुने कार्यक्रम छ ।
चौथो र पाँचै दिन पूजाअर्चना
धर्मकर्ममा विनक्कै विश्वास राख्ने प्रधानमन्त्री देउवाले भ्रमणको दुई दिन चाहिँ मन्दीरको दर्शन गरेरै बिताउने छन् । भ्रमणको चौथो दिन शनिबार बिहान प्रधानन्त्री देउवा विशेष विमानबाट तिरुपतितर्फ प्रस्थान गर्नेछन् । अपराह्न तिरुपति बालाजीको दर्शन गरेर वोधगयातर्फ प्रस्थान गर्नेछन् । भ्रमणको पाँचौ दिन आइतबार बिहान महावोधी मन्दिरमा पूजाअर्चना सकेर प्रधानन्त्री देउवा विशेष विमानबाटै नयाादिल्ली फर्कनेछन् । र, सोही दिन अपराह्न नेपाल एयरलाइन्सको नियमित उडानबाट प्रधानमन्त्री देउवा आफ्नो ५ दिने राजकीय भारत भ्रमण सकेर स्वदेश फर्कने छन् । प्रधानमन्त्री देउवाको पाँच दिने भ्रमण मध्ये दोस्रो दिन राजनीतिक रुपमा महत्वपूर्ण रहेता पनि अन्य चार दिन भनेर पाजाअर्चनामै बित्ने देखिन्छ ।
प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणमा औपचारिक रुपमा त्यस्ता ठूला सन्धी र सम्झौता केही हुने छैन । सामान्य भ्रमण सकेरै प्रधानमन्त्री स्वदेश फर्कने छन् । आवरणमा प्रधानमन्त्री देउवाको भ्रमण सामान्य नै देखिन्छ । तर, यो सामरिक महत्वको समय हो । चीन र भूटान बीचको दोक्लाम सिमा समस्यालाई लिएर चीन–भारतबीच विवाद उत्कर्षमा छ । चीन र भारत दुबै देशले नेपालबाट पक्ष चाहेका छन् । यस्तो अवस्थामा प्रधानमन्त्री देउवाको भारत भ्रणमा महत्वपूर्ण मान्छि । तर, प्रधानमन्त्री भ्रमणको औपचारिक स्क्याजुएलमा कुनै सन्धी सम्झौतामा हस्ताक्षर गर्ने कार्यक्रम नरहेकाले आशंका गरिएझै दोक्लाम विवादबारे नेपालले कुनै निर्णय गर्नसक्ने छैन ।
प्रतिक्रिया दिनुहोस्