
उदयपुर, २६ असार । सगरमाथा राजमार्गको जग्गा बिक्री गरेको आरोपमा त्रियुगा नगरपालिका वडा नम्बर ३ की महिला सदस्यसहित ६ जनालाई उदयपुर अदालतले जेल चलान गरेको छ ।
जेल चलान हुनेमा महिला वडा सदस्य हरिमाया शाही, नापी कार्यालयका नापी सर्वेक्षक शिवचन्द्र ठाकुर, जग्गा बिक्री गर्ने ७८ वर्षीय शिवप्रसाद दाहाल र उनका छोरा ५४ वर्षीय बुद्धिप्रसाद दाहाल, जग्गा खरिद गर्ने नेपाल डंगोल, लेखापढी व्यवसायी हरिप्रसाद ढुगानालाई पुर्पक्षका लागि जेल चलान गरिएको हो।
जिल्ला अदालतका न्यायाधीश तीर्थराज केसीको इजलासले उनिहरुलाई जेल चलान गरेको हो ।
सरकारी जग्गा खरिद बिक्रीमा संलग्न रहेको भन्दै बिक्री गर्ने दाहाल बाबुछोरा, खरिद गर्ने डगोल, नापी सर्वेक्षक ठाकुर, महिला वडासदस्य शाही र लेखापढी व्यवसायी ढुगानालाई पक्राउ गरी ठगीमा मुद्धा चलाइएको प्रहरी उपरीक्षक नवराज भट्टले बताउनुभयो । खरिद गर्ने डंगोल र बिक्री गर्ने दाहाल बाबुछोरासँगै अन्य भूमिका निर्वाह गर्ने महिला वडासदस्य सहितलाई मुद्धा चलाइएको थियो । दाहाल बाबुछोराले राजर्मागले ओगटेको सडक डंगोललाई १ करोड २७ लाख २० हजार रुपैयाँमा जेठ १६ गते बिक्री गरेका जिल्ला प्रहरी कार्यालयले जनाएको छ । महिला वडा सदस्य शाही, नापी सर्वेक्षक ठाकुर, लेखापढी गर्ने ढुगानको मिलेमतोमा दाहालले डंगोललाई राजर्मागको जग्गा रजिष्ट्रेसन पास गरिदिएका आधारमा मुद्धा चलाइएको प्रहरीले जनाएको छ ।
त्यस प्रकरणमा जग्गा धनीको नाती विरेश दाहाल, नापी प्रमुख कुशेश्वर चौधरी, जगन्नाथ आचार्य र दिपेन्द्र चौधरी फरार रहेको जनाइएको छ । ६ जनालाई मंगलबार नै थुनाका लागि जिल्ला कारागार शाखा बोक्सेमा पठाइएको छ ।



















प्रतिक्रिया दिनुहोस्