
काठमाडौं, २२ असार । ब्रह्माण्ड ध्वस्त हुँदैछ भनेर हल्ला फैलाउने र २३ वर्षअघि टोकियोको एक सब–वेमा गरिएको रसायनिक ग्यास आक्रमणको मुख्य योजनाकार सोको आसहारालाई जापान सरकारले मृत्युदण्ड दिएको छ ।
आसहारासहित ७ जनालाई टोकियोको हिरासत घरमा शुक्रबार बिहान मृत्युदण्ड दिइएको हो ।
आसहारा ब्रह्माण्ड ध्वस्त हुँदैछ भनेर हल्ला फैलाउने अम सिनरिक्यो समूहका नेता हुन् । उनी सन् १९९५ को २० मार्चमा स्नायू प्रणालीमा असर पुर्याउने रसायनिक ग्यास आक्रमणको मुख्य योजनाकार पनि हुन् । जापानको अहिलेसम्मकै हिंसात्मक मानिने उक्त आक्रमणमा १३ जनाको मृत्यु भएको थियो भने हजारौं घाइते भएका थिए ।
त्यसपछिका महिनाहरूमा उक्त सम्प्रदायका सदस्यहरूले विभिन्न स्थानमा हाइड्रोजन साइनाइडको प्रयोग गरी आक्रमण गर्ने प्रयास गरेका थिए । कम अपराध हुने र सामाजिक एकताको नमूना देश मानिने जापान उक्त आक्रमणपछि स्तब्ध बनेको थियो । उक्त घटनामा संलग्न भएको भन्दै दर्जनौंलाई अभियोग लगाइएको थियो । उनीहरुमध्ये मुख्य योजनाकार आसहारा सहित १३ जनालाई मृत्युदण्डको सजाय सुनाइएको हो । अझै ६ जना मृत्युदण्डको मिति पर्खेका छन् ।
अम सिनरिक्यो सम्प्रदाय के होर ?
आफ्नो नामको अर्थ – सर्वोच्च सत्यु भएको यो सम्प्रदायले सन् १९८० को दशकमा हिन्दु र बौद्ध आस्थालाई मिलाएर पछि पृथ्वी अन्ततस् विनाश हुने इसाई धर्मको मान्यताका केही अवधारणाहरू पनि लिएको थियो।
यो समूहका संस्थापक सोको आसहाराले आफूलाई क्राइस्ट र बुद्धपछि पहिलो पटक ुज्ञान प्राप्त भएकोु बताएका थिए।
अम सनरिक्योले सन् १९८९ मा जापानमा धार्मिक संस्थाको मान्यता पाएको थियो र उसका अनुयायीहरू उल्लेख्य संख्यामा विश्वभर थिए। उक्त संस्था आफ्नो उचाइमा रहँदा उसका दशौँ हजार समर्थक विश्वभर थिए।
तर बिस्तारै उक्त समूह विश्व समाप्त हुने अवधारणातर्फ लाग्यो र विश्वव्यापी युद्धका कारण पृथ्वी मासिने र आफूहरूमात्रै जीवित रहने विश्वास गर्न थाल्यो।
सन् १९९५ को आक्रमणपछि उक्त सम्प्रदाय भूमिगत भएपनि हराइ चाँहि हालेन। उसले आफूलाई एलेफ वा हिकारी नो वा भन्दै पुर्ननामाकरण गरेको थियो।
अम सिनरिक्योलाई संयुक्त राज्य अमेरिका र अन्य कैयौं देशहरूले आतंकवादी संगठनको सूचीमा राखेका छन्। एलेफ र हिकारी नो वा दुवै समूह जापानमा वैध छन् तर उनीहरूलाई ुखतरनाक धर्मु भन्दै निगरानी गर्ने गरिएको छ।
उनीहरूका जापान र अन्य देशहरूमा पनि अनुयायीहरू छन्।
सन् २०१६ मा रूसको प्रहरीले उक्त सम्प्रदायका संदिग्ध सदस्यको खोजीका क्रममा मस्को र सेन्ट पिटर्सवर्गमा छापा मारेको थियो। विविसी बाट







प्रतिक्रिया दिनुहोस्