विराटनगर, १८ जेठ । सुन तस्करीमा सहयोग गरेको आरोपमा जेल चलान भएका निलम्बित एसएसपी श्याम खत्रीलाई जिल्ला कारागार मोरङमा पठाइएको छ। सोही कारागारमा तस्करी गिरोहका नाइकेमध्ये एक चुडामणि उप्रेती ‘गोरे’ पनि छन्।
खत्री बिहिबार जिल्ला अदालत मोरङमा उपस्थित भएका थिए। उनको बयान र बहसपछि न्यायधीश नारायण प्रसाद शर्माले उनलाई पुर्पक्षका लागि कारागार चलान गर्ने आदेश दिएका हुन्।
खत्रीलाई जिल्ला कारागार मोरङ पठाइएको मोरङका एसपी मनोज केसीले बताए। ‘गोरेसँग भेट्न नमिल्ने गरी कारागारमा राख्ने व्यवस्था मिलाइएको छ,’ एसपी केसीले भने,‘दुवैलाई छुट्टाछुट्टै कारागारमा राखिएको छ।’
बयानको क्रममा गोरेले एसएसपी खत्रीले आफैं विमानस्थलबाट सुन ओसार्ने गरेको बयान दिएका थिए।
सो प्रकरणमा जेल परेका अन्य २८ जनालाई भने सुनसरीको झुम्कास्थित क्षेत्रीय कारागारमा राखिएको छ।
प्रतिक्रिया दिनुहोस्