अछाम, १७ वैशाख । अछाम साँफेबगर विमानस्थलको कालोपत्रेको काम भैरहेको छ । द्धन्दकालमा ध्वस्त भएको विमानस्थलको काम भैरहँदा स्थानीयलाई हवाईजहाज चढ्ने आशा पलाएको छ ।
एक वर्षभित्रै सम्पन्न हुने गरी साँफेबगर विमानस्थलको निर्माण गर्ने जिम्मा अमर कन्ट्रक्सनले ठेक्का पाएको थियो । गत चैत ९ गते सम्पन्न हुनुपर्ने विमानस्थलको काम मौसम, स्थानीय, प्रदेश र संघको निर्वाचनका कारण केही ढिलाई भएको छ । विमानस्थलको काम केही ढिलाइ भएपछि तीन महिना थपिएको छ ।
निर्माण गर्ने जिम्मा पाएको अमर कन्ट्रक्सनले एक महिना भित्रै विमानस्थलको सम्पूर्ण काम पुरा हुने बताएको छ । माओवादी आक्रमणका बेला ०५८ फागुनमा विमानस्थलको टावर ध्वस्त हुँदा बन्द भएको साँफेबगर विमानस्थल केही समय सञ्चालन भए पनि ०६२ देखि पूर्ण रूपमा बन्द छ ।
अवरुद्ध साँफेबगर विमानस्थल सञ्चालनका लागि सरकारले ११ करोड १७ लाख रुपैयाँ बजेट विनियोजन गरेसँगै विमानस्थलको काम सुचारु भैरहेको हो । निर्माण गर्ने जिम्मा पाएको अमर कन्ट्रक्सनका देवीलाल न्योपाने ‘एक महिना भित्रै विमानस्थलको सम्पूर्ण काम पुरा हुने बताउनुहुन्छ ।’ उहाँका अनुसार ‘स्थानीय चुनावलेका कारण केही ढिलाई भएको र माटो बटान, नाली, बेस, सब–बेस को काम पाँच सय पचास मिटर लम्बाईर २० मिटर चौडाई गर्ने काम सकिएको छ ।’
सुदूरपश्चिममा धनगढीको गेटा विमानस्थल पछिको विमान अवतरण गराउन सबैभन्दा सजिलो एयरपोर्टका रूपमा रहेको छ । साँफेबगर विमानस्थल बन्द हुँदा आकस्मिक कामका लागि जिल्ला बाहिर जाने र सिकिस्त बिरामीलाई समस्या पर्दै आएको छ ।
‘विमानस्थल सञ्चालनमा नहुँदा हालसम्म थुप्रै गर्भवती महिला तथा अन्य बिरामीहरूले समयमै उपचार नपाएर ज्यान गुमाएको’ साँफेबगर नगरपालिका वडा नं. ४ का वडा अध्यक्ष वालगिरी कुँवर बताउनुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्