बाँके, ११ वैशाख । बाँकेको कोहलपुर नगरपालिकामा नगर शिक्षा अधिकारीलाई विधार्थी संगठनले कार्यालयभित्रै थुनेका छन् । संगठनले उठाएको मागलाई चासो नदिएको र ५ दिने अल्टिमेटम दिँदा पनि माग सम्बोधन गर्ने कुनै छाटकाट नदेखाएकाले शिक्षा अधिकारीहरुलाई उनीहरुले थुनिदिएका हुन् ।
मावि तहसम्मको शिक्षा सम्पूर्ण रुपमा निशुल्क गर्नुपर्ने, निजी विद्यालयले लिइरहेको चर्को शुल्क, घटाउने , पुस्तक सिण्डीकेटको अन्त्य हुनुपर्ने, अनुमती बिनाका विद्यालय खारेज गर्नुपर्ने लगायतका माग बिधार्थीको छ ।
स्वतन्त्र विद्यार्थी युनियन, अनेरास्ववियु, नेपाल विद्यार्थी संघ, राष्ट्रवादी विद्यार्थी संघ र नयाँ शक्ति विद्यार्थी संघले मंगलबार नगर शिक्षा अधिकारी मनप्रसाद रेग्मी, श्रोत व्यक्ति जयप्रकाश शाह र कर्मचारी हेमराज रावतलाई कार्यालयभित्रै थुनेर तालाबन्दी र आन्दोलनमा उत्रिएका छन् ।
नगर शिक्षा अधिकारी रेग्मीले विद्यार्थीका माग पूरा गराउन नगर शिक्षा समितिको बैठक बस्ने तयारी भइरहदा आफूहरुलाई कोठाभित्र थुनेर तालाबन्दी गरिएको बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्