काठमाडौं, ५ असार । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले केहीले पार्टी, आन्दोलन, नीति र नेतृत्वप्रति अनावश्यक कचिंगल पैदा गर्ने कोसिस गरिरहेको टिप्पणी गरेका छन्। पार्टीका नेता झलनाथ खनालले ३६ बुँदे आरोपपत्र बुझाएको प्रसङ्गलाई लक्षित गर्दै उनले यस्तो टिप्पणी गरेका हुन्।
पार्टी मुख्यालय पेरिसडाँडामा आयोजित कार्यक्रममा बोल्दै उनले भने, ‘अहिले माधवजीले थोरै सङ्केत गर्नुभयो, कतिपय मानिसहरू पार्टी, आन्दोलन, पार्टीको नीति र नेतृत्वप्रति अनावश्यक कचिंगल पैदा गर्ने कोसिसमा छन्।’
प्रतिक्रियावादीहरूले अहिले पनि स्थापित पार्टी, लोकतन्त्र, गणतन्त्र, संघीयता र समावेशिताका निम्ति लडेका पार्टीहरूलाई कमजोर पार्ने षड्यन्त्र गरिरहेको बताए।
उनले थपे, ‘ती पार्टीहरूलाई अझै विभाजित गर्ने, त्यहाँभित्र अन्तर्कलह पैदा गर्ने, झमेला र भ्रम पैदा गर्ने षड्यन्त्रमा प्रतिक्रियावादी छन्। जानेर वा नजानेर हाम्रा कतिपय साथीहरूले पनि निराशा बाँड्दै छन्।’
उनले कम्युनिस्ट पार्टीमा उतारचढाव धेरै विगतमा भोग्दै आएको बताए।
उनले भने, ‘प्रतिक्रियावादीलाई फाइदा पुग्ने गरी निराशाको खेती नगरौँ, फ्रस्टेसन बाँड्ने काम नगरौँ। नयाँ विश्वासको साथ हामी अब महाधिवेशनको तयारीमा लागौँ। सङ्गठनलाई अझ सुदृढ गर्ने र नयाँ–नयाँ नेतृत्वहरूलाई विकास गर्ने र कार्यशैलीमा पनि नयाँ बनाउने तिर अगाडी जाऔँ।’







प्रतिक्रिया दिनुहोस्