खनालले छिटै प्रधानमन्त्री बालेन शाहले भारतको भ्रमण गर्ने प्रतिवद्धता जनाएका छन् । उनले भनेः ‘उहाँ छिट्टै भारत आउनुहुनेछ भन्ने लाग्छ। मेरो यो भ्रमण उच्चस्तरीय भ्रमणको आधार तयार पार्न हो।’
काठमाडौं/नयाँदिल्ली : नेपालका परराष्ट्रमन्त्री शिशिर खनालको पहिलो औपचारिक भारत भ्रमणले काठमाडौं र नयाँदिल्लीबीचको कूटनीतिक वृत्तमा नयाँ तरंग पैदा गरेको छ। एनडिटिभीसँगको विशेष अन्तर्वार्ताका क्रममा मन्त्री खनालले व्यक्त गरेका धारणाले नेपाल–भारत सम्बन्धको परम्परागत धारलाई बदल्ने प्रयास गरिरहेको संकेत गरेका छन्। ‘रिसेट’ को नारासहित दिल्ली पुगेका खनालले विगतका राजनीतिक बोझबाट मुक्त हुँदै परिणाममुखी सहकार्यको मार्गचित्र प्रस्तुत गरेका छन्। यो भ्रमण केवल शिष्टाचारको दायरामा मात्र सीमित छैन; यो नेपालमा उदाएको नयाँ राजनीतिक शक्तिको विदेश नीति दृष्टिकोणको पहिलो ‘ग्राउन्ड टेस्ट’ पनि हो।

NDTV Exclusive with Nepal Foreign Minister
अन्तर्वार्तामा मन्त्री खनालले आफ्नो सरकारको उदयलाई युवाहरूको असन्तुष्टि र स्थापित राजनीतिक शक्तिहरूप्रतिको अविश्वासको परिणामका रूपमा चित्रण गरेका छन्। उनको भनाइमा, नेपालको नयाँ पुस्ता अब ‘भाषण’ भन्दा ‘नतिजा’ खोजिरहेको छ। विदेश नीतिका सन्दर्भमा खनालको भनाई छ: ‘सम्बन्धको आधार अब भावना र इतिहासको छायाँमा मात्र होइन, तथ्य र परिणाममा हुनुपर्छ। उनले भनेका छन्, “हामी कुनै पुरानो ब्यागेज बोकेर आएका छैनौं। हामी ताजा जनादेशसहित आएका छौं र दुवै देशलाई लाभ पुग्ने सम्बन्ध निर्माण गर्न चाहन्छौं।”
मन्त्री खनालले छिटै प्रधानमन्त्री बालेन शाहले भारतको भ्रमण गर्ने प्रतिवद्धता जनाएका छन् ।उनले भनेः ‘उहाँ छिट्टै भारत आउनुहुनेछ भन्ने लाग्छ। उहाँ घरेलु प्राथमिकतामा केन्द्रित हुनुहुन्छ। हामीले बजेट घोषणा गरिसकेका छौं। मेरो यो भ्रमण उच्चस्तरीय भ्रमणको आधार तयार पार्न हो।’
विगत केही वर्षयता नेपाल–भारत सम्बन्ध सीमा विवाद, राजनीतिक अविश्वास र भूराजनीतिक प्रतिस्पर्धाका कारण केही हदसम्म चिसो बनेको थियो। मन्त्री खनालले ती जटिलताहरूलाई बिर्सेर आर्थिक विकासलाई केन्द्रबिन्दुमा राख्ने प्रयास भारतीय पक्षलाई बुझाउने कोशिश गरेका छन् ।उनको दृष्टिकोणले नयाँ सरकार वैचारिक बहसभन्दा व्यावहारिक सहकार्य (Pragmatic Cooperation) तर्फ केन्द्रित छ।
भ्रमणको सबैभन्दा बलियो पक्ष ऊर्जा क्षेत्र रह्यो। १०,००० मेगावाट विद्युत व्यापार सम्बन्धी समझदारीलाई कार्यान्वयन गर्ने खनालको प्रतिबद्धताले ठूलो प्रभाव पार्न सक्छ। यो क्षेत्र नेपालको व्यापार घाटा घटाउन, विदेशी मुद्रा आर्जन गर्न र देशलाई दक्षिण एशियाको ऊर्जा हबका रूपमा स्थापित गर्न ‘गेम चेन्जर’ सावित हुन सक्छ। त्यसैगरी, सडक, रेल र हवाई नेटवर्क विस्तारमा पनि उनको जोड छ।यो विषयमा तत्कालीन पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारका बेला भारत सरकारसँग दिर्घकालीन सम्झौता भएको थियो भने प्रचण्डलाई विस्थापित गरेर शेरबहादुर देउवाको समर्थनमा प्रधानमन्त्री बनेका ओलीको भने भारतसँग सम्वन्ध विकास त के औपचारिक भ्रमण समेत हुन नसकेको यहाँ उल्लखेनीय छ ।
मन्त्री खनालले विशेषगरी जनकपुर–अयोध्या धार्मिक सर्किटलाई आर्थिक अवसरसँग जोड्ने र लुम्बिनीलाई अन्तर्राष्ट्रिय बौद्ध पर्यटन केन्द्रको रूपमा विकास गर्ने योजनामा उनले भारतको बलियो सहकार्य खोजेका छन्।
भ्रमणका क्रममा मन्त्री खनालले भारतको डिजिटल रूपान्तरणबाट नेपालले सिक्न सक्ने कुरामा जोड दिएका छन्। विशेषगरी युपीआई (UPI) जस्ता डिजिटल भुक्तानी प्रणाली र डिजिटल सार्वजनिक पूर्वाधार नेपालका लागि गेम चेन्जर हुनसक्छन्। भारतीय प्रधानमन्त्री मोदीका सुरक्षा सल्लाहकार अजित डोभालसँगको भेटमा नेपालले आफ्नो भूमि भारतीय सुरक्षा हितविरुद्ध प्रयोग हुन नदिने प्रतिबद्धता मन्त्री खनालले दोहोर्याए, जसले सुरक्षा सहकार्यलाई विश्वास निर्माणको आधारका रूपमा हेर्ने गरिन्छ ।
अन्तर्वार्ताको सबैभन्दा उल्लेखनीय पाटो मन्त्री खनालको आत्मसमीक्षात्मक टिप्पणी थियो। उनले स्पष्ट रूपमा स्वीकारे – भारत तीव्र आर्थिक वृद्धिको यात्रामा अघि बढ्दा नेपाल अपेक्षित गतिमा अघि बढ्न सकेन। यस्तो खुला स्वीकारोक्तिले नेपाली राजनीतिमा एक नयाँ र व्यावसायिक शैलीको संकेत गर्दछ।
आशावादका बाबजुद खनालसामु केही पुराना तर गम्भीर चुनौतीहरू भने कायमै छन्। नेपालमा परियोजना घोषणा धेरै भए पनि तिनको कार्यान्वयन सधैं सुस्त रहनु, दीर्घकालीन विकासका लागि आवश्यक राजनीतिक स्थिरताको अभाव र प्रशासनिक जडताले कूटनीतिक उपलब्धिमा प्रश्न उठाउन सक्छन्।
यसैबीच शनिबार मन्त्री खनालले समकक्षी एस जयशंकरसँग भेटवार्ता गर्नुका साथै प्रतिनिधि मण्डलस्तरमा वार्ता गरेका छन् ।
यसअघि जुन १–देखि ५ सम्म सत्तारुढ रास्वपाका सभापति रवि लामिछानेले भारतको भ्रमण गरेका थिए । भ्रमणको दिन रवि लामिछानेको नामबाट हिन्दूस्तान टाइम्समा एक लेख छापिएको थियो भने मन्त्री खनालको भ्रमणको क्रममा भारतीय संस्थापनसँग निकट मानिने गौतम अडानीको मुख्य स्वामित्वमा रहेको टेलिभिजन नेटवर्क एनडिटिभीमा भिडियो अन्तार्वार्ता गरिएको छ ।
शिशिर खनालको दिल्ली भ्रमणले नेपाल–भारत सम्बन्धलाई ‘विवादको फ्रेम’ बाट निकालेर ‘विकासको फ्रेम’ मा राख्ने प्रयास गरेको छ। तर, कूटनीतिमा कागजी सम्झौताभन्दा जमिनी नतिजाको वजन धेरै हुन्छ। यदि ऊर्जा, डिजिटल सहकार्य र कनेक्टिभिटीमा छिटो परिणाम देखियो भने मात्र यो भ्रमणले नेपाल–भारत सम्बन्धको साँच्चिकै नयाँ अध्यायको सुरुआत गर्नेछ। अन्यथा, यो भ्रमण पनि पुराना आश्वासनहरूको लामो सूचीमा अर्को एउटा ‘महत्वाकांक्षी दस्तावेज’ थपिने खतरा रहन्छ। अहिलेको सन्देश स्पष्ट छ: काठमाडौं र नयाँदिल्ली दुवै अब सम्बन्धको पुरानो ‘रिसेट’ बटन थिचेर विकास साझेदारीको नयाँ यात्रा सुरु गर्न चाहन्छन्।








प्रतिक्रिया दिनुहोस्