काठमाडौं, २८ वैशाख । प्रतिपक्ष दल नेकपा (एमाले) ले सबै अध्यादेशहरु तत्काल खारेज गर्न सरकारसँग माग गरेको छ । सोमवार संघीय संसद प्रतिनिधि सभाको आकस्मिक समय लिएर बोल्दै एमालेकी सचिव पदमा अर्यालले सरकारले स्वेच्छाचारी ढंगले संवैधानिक परिषद सम्बन्धि लगायतका अध्यादेशहरु ल्याएको जिकिर गर्दै तत्काल खारेज गर्नुपर्ने माग गर्नुभएको हो । सरकारले हालै ल्याएका अध्यादेश संसदको हुर्मत लिने, सांसदहरुको अधिकार कुण्ठित गर्ने भएकाले त्यसलाई तत्काल खारेज गर्नुपर्ने उहाँको तर्क थियो ।
सचिव अर्यालले न्यायपालिका प्रमुखलाई प्रधानमन्त्रीको तजविजमा नियुक्त गर्ने जस्ता आपत्तिजनक कदम अघि बढाएको भन्दै आक्रोश व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, ‘म सरकारलाई स्मरण गराउन चाहन्छु लोकतन्त्रमा सरकार शक्तिशाली हुन सक्छ । तर सार्वभौम संसदभन्दा माथि कहिल्यै हुन सक्दैन । सत्ताको उन्माद क्षणिक हुनसक्छ । तर संसदीय मर्यादा र विधिको शासन स्थायी हुनुपर्छ । त्यसैले कार्यपालिकाको यो स्वेच्छाचारिता तत्काल बन्द गरियोस् । संसदको हुर्मत लिने, सांसदहरुको अधिकार कुण्ठित गर्ने काम बन्द होस । प्रश्तुत सम्पूर्ण अध्यादेशहरु अविलम्ब खारेज गरियोस् ।’ सचिव अर्यालले सरकार सार्वभौम संसदभन्दा माथि नहुने पनि बताउनु भयो ।







प्रतिक्रिया दिनुहोस्