काठमाडौं २८ वैशाख ।मन्त्रिपरिषद् बैठकले राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको दुवै सदनको संयुक्त बैठकलाई गर्ने सम्वोधन स्वीकृत गर्ने निर्णय गरेको छ । सोमबार बसेको बैठकले सो निर्णय गरेको हो । राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा ९५ बमोजिम आज ४ बजे संयुक्त बैठकलाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।
आजैदेखि संघीय संसद्को बजेट अधिवेशन पनि सुरु हुँदैछ । प्रतिनिधिसभा नियमावलीको परिच्छेद ७ मा राष्ट्रपतिबाट सम्बोधन र नीति तथा कार्यक्रमसम्बन्धी व्यवस्था छ । बजेट अधिवेशनमा राष्ट्रपतिको सम्बोधनमा सरकारको नीति तथा कार्यक्रम उल्लेख गरेर दुवै सदनको संयुक्त बैठकमा वाचन गराइन्छ । राष्ट्रपतिले वाचन गरिसकेपछि नीति तथा कार्यक्रम प्रधानमन्त्रीले प्रतिनिधिसभा र राष्ट्रिय सभामा टेबुल गर्ने व्यवस्था छ । राष्ट्रपतिको सम्बोधनका लागि संसद् सचिवालयले आवश्यक तयारी गरिसकेको प्रवक्ता एकराम गिरीले बताउनुभयो । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले रास्वपाको वाचापत्र अनुसारै नीति तथा कार्यक्रम निर्माण भएको बताउनुभयो। बजेट अधिवेशनको पहिलो बैठकमा सरकारले हालै ल्याएका आठवटै अध्यादेश पेस हुने भएका छन् । त्यस्तै, पहिलो बैठकमा राष्ट्रपति कार्यालयबाट प्राप्त बैठक आह्वानसम्बन्धी पत्र पनि पढेर सुनाइनेछ । प्रतिनिधिसभा नियमावली मस्यौदा समितिको प्रतिवेदन प्रतिनिधिसभामा पेस गरिनेछ । त्यस्तै, बैठकको अध्यक्षता गर्ने सदस्यहरूको मनोनयन गरिनेछ भने बाधा अड्काउ फुकाउ आदेश अनुमोदनका लागि पेस हुनेछ । सरकारले बजेट अधिवेशनमा कम्तीमा ४५ विधेयक पेस गर्ने तयारी गरेको छ । यसका अलावा अध्यादेश प्रतिस्थापन विधेयक पनि ल्याउनेछ ।







प्रतिक्रिया दिनुहोस्