ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सुदूरपश्चिममा आज बिसु पर्व मनाइँदै


एबीसी न्यूज
बैशाख १, २०८३ मंगलबार  ७ : ३० बजे

कञ्चनपुर, १ वैशाख । ‘वर्ष दिनकी एकै बिसुः बिसुकी घरै नाई’ भन्ने सुदूरपश्चिममा प्रचलित लोककथनले बिसु पर्वको सामाजिक, सांस्कृतिक र भावनात्मक महत्वलाई स्पष्ट रूपमा झल्काउँछ ।

वर्षभरि देशविदेशमा रहेका आफन्त एकदिन भए पनि घर फर्कनैपर्ने मान्यताका कारण यतिबेला सुदूरपश्चिमका गाउँबस्तीमा चहलपहल र उत्साह बढेको छ । सुदूरपश्चिमका सीमानाकामा बिसु पर्व मनाउन घर फर्कनेहरूको घुइँचो बढेको छ । जहाँ भारतबाट फर्कनेमध्ये पहाडी क्षेत्रका बासिन्दाको सङ्ख्या उल्लेख्य छ ।

नयाँ वर्षको सुरुवातसँगै वैशाख १ गते मनाइने बिसु पर्व केवल चाड मात्र नभई पारिवारिक पुनर्मिलन, सामाजिक एकता र सांस्कृतिक निरन्तरताको प्रतीकका रूपमा स्थापित हुँदै गएको छ । रोजगारी, अध्ययन वा अन्य कारणले देशविदेशमा रहेकाहरू यो पर्व मनाउनका लागि घर फर्कने परम्पराले गाउँघरमा विशेष रौनक थपेको स्थानीय बताउँछन् ।

बिसु पर्वका अवसरमा नयाँ लुगा लगाउने, आफन्त र परिवारसँग भेला भएर मिठोमसिनो परिकार खाने तथा वर्षभरिका सुखदुःख साटासाट गर्ने चलन रहिआएको नेपाल पत्रकार महासङ्घ कञ्चनपुरका पूर्वअध्यक्ष हरिप्रसाद जोशीले बताए । उनका अनुसार यस पर्वका अवसरमा घरघरमा मासु, मालपुवा, खीर, लाउन (पुरी), बटुक, माणालगायत मौलिक परिकारहरू तयार पारिन्छन् ।

यी परिकार केवल खानाका रूपमा सीमित नभई पुस्तौँदेखिको परम्परा र सामूहिक जीवनशैलीको प्रतीकका रूपमा रहेको जोशीले बताए । उनका अनुसार बिसु पर्वको अर्को महत्वपूर्ण पक्ष बिहानै अनिवार्य स्नान गर्ने हो । ‘बिहान ब्रह्ममुहूर्तमा नुहाएपछि रोगव्याध हट्ने र शरीर शुद्ध हुने जनविश्वास रहिआएको छ,’ उनले भने, ‘ननुहाए ‘विष लाग्ने’ भन्ने मान्यता पनि प्रचलित छ ।’

स्नानपछि देवदर्शन गर्ने, मान्यजनबाट टीका ग्रहण गर्ने र परिवारसँग बसेर मिठामसिना परिकार खाने चलनले धार्मिक आस्था र पारिवारिक सम्बन्धलाई अझ मजबुत बनाउने जोशीको भनाइ छ । उनका अनुसार बिसु पर्वमा बिहानैदेखि महिलाहरू घरायसी परिकार तयार पार्न व्यस्त हुन्छन् । स्नानपछि देवदर्शन गरी परिवारका सदस्यहरू एकै ठाउँमा बसेर टिकोटालो गर्ने, मिलेर मौलिक परिकार खाने र भलाकुसारी गर्ने परम्पराले सामाजिक एकता र आत्मीयता बढाउने उनले विश्वास व्यक्त गरे ।

‘यो पर्वको सबैभन्दा रोचक र मौलिक पक्ष ‘सिस्नो लगाउने’ चलन हो,’ स्थानीय संस्कृतिका जानकार तर्कराज भट्टले भने, ‘देवरभाउजबीच रमाइलोका रूपमा सिस्नो लगाएर ठट्टा गर्ने चलनले परिवारभित्रको सम्बन्धलाई हाँसो, माया र नजिकपनले भरिदिने गर्छ ।’ भाउजु नभएकाहरूले आफैँले सिस्नो छुने चलन पनि छ । यसले शरीरका विकार हट्ने, जाडोको असर कम हुने र बाथजस्ता रोग नलाग्ने विश्वास गरिन्छ ।

शुक्लाफाँटा नगरपालिका–११ का शङ्करदत्त जोशीका अनुसार पहिले पर्वमा सिस्नु लगाउने चलन निकै उत्साहका साथ मनाइन्थ्यो । ‘सिस्नो लगाउन आएका देवर देखेर भाउजु लुक्ने गर्दथे । लुकेको ठाउँ पत्ता लगाएर सिस्नो लगाइन्थ्यो,’ उनले भने, ‘भाउजुले पनि यसलाई सहज रूपमा स्वीकार्थे । लुकेर देवरलाई खोज्न लगाउने र सिस्नो लगाउनेसम्मका रमाइला दृश्य हुन्थे ।’ पछिल्लो समय यस्तो रौनक विस्तारै हराउँदै गएको उनको भनाइ छ ।

ज्योतिषीय दृष्टिले बिसु पर्वलाई ‘अकाट्य’ वा ‘अपुच्छय’ दिनका रूपमा लिइन्छ । स्थानीय दामोदर जोशीका अनुसार यसदिन विवाह, व्रतबन्ध, गृहप्रवेशलगायत शुभकार्यका लागि साइत हेर्नु वा ज्योतिषलाई सोध्नु आवश्यक पर्दैन । ‘आज सिधैँ गरिएका कार्य पनि शुभफलदायी हुने विश्वास छ,’ उनले भने ।

बिसुलाई वर्षभरिका चाडपर्वहरूको समापन र नयाँ वर्षको स्वागत गर्ने दिनका रूपमा लिने गरिएको जोशीले बताए । ‘यसदिन पुराना दुःख, असफलता र थकानलाई बिदाइ गर्दै नयाँ उर्जा र आशासहित जीवनलाई अगाडि बढाउने सांस्कृतिक सन्देश दिइन्छ । यही कारण बिसु सुदूरपश्चिमको मौलिक पहिचान बोकेको महत्वपूर्ण पर्वका रूपमा स्थापित भएको छ,’ उनले भने ।

आधुनिक जीवनशैली, बसाइँसराइ र व्यस्तताका कारण केही परम्परागत अभ्यासहरू ओझेलमा पर्दै गएकामा जोशीले चिन्ता व्यक्त गरे । विशेषगरी देवरभाउजुबीचको सिस्नो लगाउने चलन, सामूहिक भेटघाट र लामो समयसम्म चल्ने भलाकुसारी अहिले घट्दै गएको उनले बताए ।

परिवर्तनका बीच पनि बिसु पर्वको मूल सार भने अझै जीवित रहेको उनले बताए । उनका अनुसार परिवारप्रतिको माया, आफन्तबीचको सम्बन्ध, सामाजिक सहकार्य र सांस्कृतिक निरन्तरताको भावना यस पर्वमा अझ मजबुत रूपमा देखिन्छ ।

सुदूरपश्चिममा मनाइने बिसु पर्वले समयसँगै रूप परिवर्तन गरे पनि यसको आत्मा भने उस्तै सशक्त र जीवन्त रहँदै आएको जानकारहरू बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सुशासनको नारामाथि प्रश्न : गृहमन्त्रीको सम्पत्तिले सामाजिक तरंग

नयाँ वर्ष २०८३ : सूर्य मेषमा प्रवेश गर्दा किन जाग्छ नयाँ उमंग ?

सम्बन्धित

सरकारले ल्यायो ‘राष्ट्रिय प्रतिबद्धता’को मस्यौदा, प्रमुख दलबाट सुझाव माग (पूर्णपाठ)

नयाँ वर्षमा प्रधानमन्त्री बालेनको कामना : सबैको जीवनमा सुख र आरोग्य छाओस्

नयाँ वर्षले ‘पाको अनुभव’ र ‘नवयुवा ऊर्जा’बीच सार्थक ‘सिनर्जी’ सिर्जना गरोस् – ओेली

यी हुन् समाज कल्याण परिषद्को भाडा नतिर्ने २० संघ संस्था, ऋषि धमलाले नै ७३ लाख तिरेनन् (सूचीसहित)

“कानुनको राज गृहमन्त्रीकै घरमा ?”

राप्रपा प्रवक्ता श्रेष्ठ भन्छन्–धनी बन्न पाइन्छ, तर आय र कर तिरेको विवरण पनि सार्वजनिक होस्

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com