काठमाडौं, चैत्र २७ । संयुक्त विद्यार्थी संगठनले विद्यार्थी संगठन खारेज गर्ने सरकारको तयारीविरुद्ध आन्दोलनको घोषणा गरेको छ ।
शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै संयुक्त विद्यार्थी संगठनले विद्यार्थी संगठन खारेजको तयारीबिरुद्ध पहिलो चरणको आन्दोलनको घोषणा गरेको हो । जस अनुसार चैत २९ गते नागरिक अगुवासँग अन्तरक्रिया गर्ने, चैत ३० गतेदेखि आगामी वैशाख ४ गतेसम्म देशका सबै जिल्लामा रहेका क्याम्पसमा छलफल तथा अन्तरक्रिया गर्ने तथा वैशाख ५ गते पूर्व विद्यार्थी नेता तथा सांसदहरूसँग अन्तरक्रिया गर्ने उनीहरूले जनाएका छन् । त्यसैगरि वैशाख ७ गतेदेखि ९ गतेसम्म क्याम्पसमा ब्यानर राख्ने, पर्चा बाँड्नेदेखि हस्ताक्षर संकलन गरिने विद्यार्थी संगठनहरुले जनाएका छन् ।त्यस्तै वैशाख ११ गते हरेक विश्वविद्यालयको उपकुलपतिलाई ज्ञापन पत्र दिने, वैशाख १२ गतेः प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र दिने र वैशाख १५ गते काठमाडौँको बालुवाटार सहित देशभरि कापी–कलम सहितको प्रदर्शन गर्ने कार्यक्रम तय भएको नेविसंघका अध्यक्ष दुजाङ शेर्पाले जानकारी दिए । उनले सरकारले अधिनायकवादको नीति अपनाए स्वीकार्य नहुने चेतावनी दिए । त्यस्तै अनेरास्ववियुका अध्यक्ष दिपक धामीले सरकारले निषेधको नीति लिने र जनताको आवाज थुन्ने कार्यमा अघि बढ्न खोजेको भन्दै आपत्ति जनाए । उनले दलीय बिचारसंग आवद्ध संगठनलाई खारेज गर्ने कार्य स्वीकार्य नहुने भन्दै एकतर्फीले सरकार अघि बढ्न खोजे कडा आन्दोलन गर्ने चेतावनी दिए । त्यस्तै संयुक्त विद्यार्थी संगठनले विश्वविद्यालयमा प्रविधि एकीकरणको नियमन र अनुगमन गर्नुपर्ने, त्रिभुवन विश्वविद्यालयले गठन गरेको उच्चस्तरीय आयोगको प्रतिवेदन तत्काल कार्यान्वयनमा लैजानुपर्ने,सबै विश्वविद्यालयको परीक्षाफल प्रकाशन र मौका परीक्षा ३ महिना भित्र सञ्चालन गर्नुपर्ने, तत्काल महँगी नियन्त्रण गरी जनतालाई राहतको प्याकेज घोषणा गर्नुपर्ने, भदौ २३ र २४ गतेको घटनाको छानबिनका लागि स्वतन्त्र र निष्पक्ष उच्चस्तरीय छानबिन आयोग गठन गरी उक्त आयोगको प्रतिवेदनका आधारमा दोषीहरू माथि कडा कारबाही गर्नुपर्ने लगायतमा माग समेत राखेका छन् ।








प्रतिक्रिया दिनुहोस्