काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले नेपाललाई अहिले सुधार चाहिएको र सुधारको ग्यारेन्टी लिएर आफूहरू उभिएको बताएका छन् ।
बुधबार राजधानीमा आयोजिक कार्यक्रममा थापाले अबको पाँच वर्ष खेर नफाल्ने गरी संकल्प र योजनासहित आफूहरू आएको बताए । नागरिक तहमा विशेषगरी युवा पुस्तामा असन्तोष बढिरहेको उल्लेख गर्दै थापाले देश सञ्चालनको वर्तमान शैलीप्रति युवाहरूको गुनासो जायज रहेको उल्लेख गरे ।
त्यसलाई सम्बोधन गर्न सुधार आवश्यक रहेको थापाको भनाइ छ । उनका अनुसार, विगत १०–१२ वर्षमा जति विकास हुनुपर्थ्यो, त्यो हुन सकेन । तर, अबका पाँच वर्ष खेर जान नदिने उनले प्रतिबद्धता जनाए । देश परिवर्तनका लागि आवेग, रिस वा उत्तेजना मात्र पर्याप्त नहुने थापाको भनाइ छ ।
देश बनाउन सबै राजनीतिक दलहरूको सहभागिता र सहकार्य आवश्यक रहेको उनको भनाइ छ । राजनीतिक दलहरूसँग विमति र प्रतिस्पर्धा हुने भए पनि देश बनाउन सबै दल चाहिने थापाले बताए । देशमा रहेका सबै राजनितिक दललाई समेटेर अघि बढ्ने राजनीति आजको आवश्यकता रहेको उनको भनाइ छ । त्यो भूमिका नेपाली कांग्रेसले निर्वाह गर्ने उनले बताए ।
आगामी निर्वाचनबाट पपुलिस्ट शक्तिहरू सत्तामा आए त्यसको भार नेपालले थेग्न नसक्ने उनको भनाइ छ । हालको प्रमुख चुनौती देशलाई पपुलिजमबाट जोगाउनु रहेको उनले बताए । परिपक्व लोकतन्त्र भएका देशहरूमेत पपुलिज्मको लहरमा परेको उल्लेख गर्दै थापाले नेपालजस्तो अझै संस्थागत रूपमा बलियो नभइसकेको लोकतन्त्रका लागि यो थप चुनौतीपूर्ण हुने उल्लेख गरे ।
उनका अनुसार विश्वका एकसेएक परिपक्व डेमोक्रेसीहरू पनि पपुलिज्मको शिकार भएका छन् । तर, त्यहाँ संस्थाहरू बलिया भएकाले पपुलिज्म केही महिनामै ढल्ने गरेको उनले बताए । नेपालमा संस्थाहरू कमजोर भएको अवस्थामा पपुलिजमले अख्तियारी बोकेर आएमा त्यसको परिणाम गम्भीर हुने उनको भनाइ छ ।
यस्तो छ थापाको भनाइ –
यो निर्वाचनअगाडिको हाम्रो ठूलो प्रश्न भनेको के नेपाललाई हामी एक्सट्रिनिजमबाट जोगाउन सक्छौँ भन्ने हो । अहिले एक(से(एक परिपक्व डेमोक्रेसीहरू पनि जसरी पपुलिजमको सिकार भएको छ, हेर्दाहेर्दे एउटा वेभजस्तो आएको छ, त्यो पपुलिजमको आक्रमणबाट के नेपालको डेमोक्रेसीलाई जोगाउन सक्छौँ रु हाम्रो डेमोक्रेसी त्यति परिपक्व पनि भइसकेका छैनौँ । हाम्रो इकोनोमीको आफ्नै च्यालेन्जहरू छ । डेमोक्रेसी परिपक्क भइसकेको संस्थाहरू बनिसकेको ठाउँमा पपुलिजम के हुँदो रहेछ भने पपुलिजम ५र६ महिना आउँछ, त्यो ढल्छ । किनकी संस्थाहरू बलियो छ । हाम्रो सन्दर्भमा ती संस्थाहरू बलियो बनिसकेको नै छैन । हामीले बनाएनौँ, हामीले भत्कायौँ । संस्थाहरू बलियो नबनेको अवस्थामा आवधिक निर्वाचनबाट पपुलिजम एउटा अख्तियारी बोकेर आयो भने त्यसको भार हामी थेग्न सक्छौँ भन्ने हाम्रोअगाडि एउटा प्रश्न छ । यसको हामीले ठिक ढंगले उत्तर खोज्नुपर्नेछ ।
नागरिकहरूको तहमा ठूलो छटपटाहट छ, खासगरी नौजवानहरूको बीचमा छ, देश जसरी चलिरहेको थियो, अहिले पनि चलिरहेको छ । यस विषयमा उनीहरूको ठूलो कम्प्लेन छ, त्यो जायज छ । उनीहरूको मागलाई सम्बोधन गर्ने नै हो । अहिलेको मुद्दा यही नै हो । नेपाललाई अहिले सुधार चाहिएको हो । सुधारको ग्यारेन्टी लिएर हामीहरू उभिएका छौँ । संकल्प लिएर, योजना लिएर, कुन दिन के गर्ने रु नेपालको यो पाँच वर्ष खेर फाल्न हुन्न, गएको १०र१२ वर्ष जसरी विकास हुनुपथ्यो, त्यो हुन सकेन । हामीले मान्यौँ, मान्नुपर्छ यसलाई, त्यसको पार्ट हामी पनि हो तर यो पाँच वर्ष हामी खेर फाल्दैनौँ । यो पाँच वर्ष खेर नफाल्ने भन्दै गर्दा हामी समालिनुपनि पर्छ ।
देश उत्तेजनाले मात्रै बदलिन्न । देश रिसले बदलिन्न, देश आवेगले बदलिन्न । म असल, बाँकी रहेका सबै खराब भनेर देश बन्दैन । बन्नै सक्दैन । हाम्रा विमति छन्, राजनितिक दलहरूसँग, हामी फरकफरक राजनितिक दल हौँ, हामी प्रतिस्पर्धा गर्छौं । तर, हामी सबैको आफ्नो स्पेस छ । यो देश बनाउन एमाले पनि चाहिन्छ, माओवादी, रास्वपा, जसपा पनि चाहिन्छ, सबै चाहिन्छ । सबैलाई मिलाएर लिएर जानुपर्छ । त्यो मिलाएर लैजाने राजनिति आजको दिनमा नेपाली कांग्रेसले गर्छ ।








प्रतिक्रिया दिनुहोस्