ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

स्थलगत – १ : ‘बा’ र ‘बालेन’ शैली


शुभशंकर कँडेल /डण्ड गुरुङ
माघ २८, २०८२ बुधबार  ५ : ४७ बजे

भदौरे विद्रोहको उत्कर्षमा बालेन्द्र शाहका लागि प्रधानमन्त्री बन्ने प्रस्ताव आउनु आफैंमा संकेत थियो—आन्दोलनले सडकबाट सिधै सत्ताको ढोकासम्म दबाब सिर्जना गरिसकेको थियो। तर बालेनले त्यो प्रस्ताव अस्वीकार गरे। आफू जेनजी आन्दोलनको प्रतिनिधि नभएको घोषणा गर्दै उनले दूरी कायम गरे। यो अस्वीकार केवल नैतिक अडान थिएन; सत्ता र वैधतासँग जोडिएका जोखिमबारे गरिएको सचेत राजनीतिक गणना थियो।

बालेनले आन्दोलनको स्वामित्व लिन अस्वीकार गरे पनि आन्दोलनलाई स्वतन्त्र रूपमा बग्न भने दिएनन्। बरु उनले आफूलाई ‘नेतृत्वबिनाको नेतृत्व’ को भूमिकामा राख्दै, जिम्मेवारी नबोकी प्रभाव प्रयोग गर्ने रणनीति अपनाए। संसद् विघटनको मागदेखि सेनासँग संवाद गर्ने विषयसम्म, उनले आन्दोलनकारीलाई असामान्य तर गहिरो राजनीतिक संकेत बोकेका निर्देशन दिइरहे। यी निर्देशनहरू न त शुद्ध विद्रोही थिए, न त परम्परागत संवैधानिक—तर सत्ताको केन्द्रलाई असजिलो बनाउने हिसाबले सावधानीपूर्वक छनोट गरिएका थिए।

यही द्वैध रणनीतिले बालेनलाई खतरनाक रूपमा प्रभावशाली बनायो। उनी आन्दोलनका औपचारिक नेता थिएनन्, त्यसैले असफलताको प्रत्यक्ष दोष उनीमाथि नआउने हिसाब थियो। तर आन्दोलनको भाषा, लक्ष्य र राजनीतिक कल्पनामा उनको छायाँ समयक्रममा प्रष्ट हुँदै गयो। रास्वपामा प्रवेशको नाटकीय मोडदेखि प्रधानमन्त्रीको प्रस्तावसम्म आइपुग्दा, अब थप व्याख्या आवश्यक नै छैन। यस अर्थमा बालेनको भूमिका अगुवाको भन्दा पनि ‘डिस्प्याचर’ जस्तो देखिन्थ्यो—जो प्रत्यक्ष भिडन्तमा नउत्रीकनै शक्ति प्रवाहको दिशा तोकिरहन्छ।

यही कारण, बालेन तत्कालीन विद्रोहको पात्र मात्र रहेनन्; उनी नेपाली राजनीतिमा नयाँ किसिमको शक्ति प्रयोग—जिम्मेवारीबिनाको प्रभाव, नेतृत्वबिनाको नियन्त्रण—को अभ्यास गर्ने दुर्लभ उदाहरण बनेका छन्। यही क्रममा उनी तत्कालीन सत्ता प्रमुखलाई दीर्घकालीन रूपमा राजनीतिबाट विमुख गराउने महत्वाकांक्षी रणनीति सफल बनाउन झापा पुगेका छन्। उनीसँग रास्वपाको चुनाव चिन्हबाहेक अरू केही छैन। जे छ, उनका नामसँग जोडिएका यन्त्र–तन्त्रहरू नै सर्वत्र छन्। यतिसम्म कि झापास्थित उनको सम्पर्क कार्यालय भनिएको दफ्तरमा समेत, जुन दलको चुनाव चिन्हबाट उनी उम्मेदवार बनेका छन्, त्यस दलका दलपतिको फोटोसमेत छैन।

चुनाव प्रचारका लागि उनी स्वयं दुई दर्जन युट्युबर र कन्टेन्ट क्रियेटरका साथ मैदानमा छन् भने आधा दर्जन त्यस्तै समूहसहित उनकी श्रीमती सविना काफ्ले झापाका गाउँ–देहात घुमिरहेकी छन्।

बालेनले उम्मेदवारी दर्ताकै क्रममा धक्कामुक्की गर्दै आफ्नो रिसाहा चरित्र सार्वजनिक रूपमा प्रदर्शन गरे। त्यसलगत्तै भारतीय प्रधानमन्त्री मोदीको झल्को दिने गरी छानिएका हिन्दू मन्दिर र धामको दौडाहामा लागे। यही क्रममा उनले सुनसरीको बराहक्षेत्रस्थित चतराधाममा धरानका एक अनलाइन पत्रकारको मोबाइल भुइँमा फ्याँकेर फुटाइदिए। त्यसअघि सुनसरीमै समान चुनाव चिन्हका उम्मेदवारले लगाइदिन लागेको माला हुत्याइदिएका थिए।

त्यसपछि उनी उदयपुरको कटारी पुगे। संयोगले हामी पनि त्यहीँ थियौं। केही सय मानिस उनलाई हेर्न सडकमा उभिएका थिए। उनी कसैलाई वास्ता नगरी ‘हलेसी जाने’ भन्दै हुइँकिएपछि, उनलाई भेट्न आएका घण्टी चिन्ह भिरेका महिलाहरूले नै ‘घण्टी भेट्न आएको, उसले घण्टा देखाइदियो’ भन्दै आक्रोश पोखेका भिडियो टिकटक र रिलमार्फत भाइरल भइरहेका छन्।

यता बालेन हिन्दू तथा राजावादी भोट तान्ने अभियानमा लागिरहेका बेला, उनकी श्रीमतीले झापामा इसाई समुदाय र आफ्नै सिस्टरबाट आशीर्वाद लिइरहेका दृश्यका परस्परविरोधी भिडियोहरू पनि भाइरल भइरहेका छन्। शायद यही नै ‘संसदीय चुनावका लागि जे पनि गर्ने’ राजनीतिक यथार्थ हो।

ताजा प्रहरको उत्कर्षमा राजविराजस्थित मधेशी राजनीतिक अगुवा तथा आन्दोलनका प्रतीक गजेन्द्र नारायण सिंहको सालिकमा गाडीबाटै माला हुत्याइदिएको घटना अघि आएको छ। यो उनको स्वभावअनुसार स्वाभाविक हुन सक्छ। तर स्मरणीय के छ भने, गत ६ गते बिहान मात्र मधेश आन्दोलनका शहीदको सम्मानमा भन्दै लहानमा गोहीका आँसु झारेको तीन हप्ता पनि बितेको छैन।

त्यसैगरी नेपालगञ्ज पुग्दा उनका एक दर्जन समर्थक गाडीबाट खसालिएको घटना, अछाम पुग्दा उनका हितैषी तथा होनहार सिनेपत्रकारको दुखद निधन—यी सबै घटनाहरू बालेनले यही यात्राक्रममा व्यहोर्नुपरेको छ। यही क्रममा उनले देउवाका दाइको गाउँमा पुगेर खिर चाखे, बडीमालिकातिर जाँदा हिउँमा खेले, बाइक कुदाएको तस्बिर पोस्ट गरिसकेका छन्।

झापामै एक वृद्ध बुवाले ‘चिन्ह के हो?’ भनेर सोध्दा उनले ‘बृष राशि’ भन्ने दृश्य, अर्को चोकमा एक महिलाले ‘दाँत देखाउनु त’ भनेपछि गाडीको स्टेयरिङ समातेरै उनले ङिच्च हाँसेको भिडियो—यी सबै अहिले भाइरल छन्। सम्भवतः अहिलेको चुनाव र यसले संकेत गर्ने राजनीतिक गन्तव्यको सार यही हो। यस्तो संक्रामक हावामा कसैले गम्भीर कुरा सुन्ने, सोध्ने वा सोच्ने अपेक्षा गर्नु आफैंमा मूर्खता हुनेछ।

अर्कोतिर, भदौरे विद्रोहले बढारिएका मुख्य पात्र ओली जीवनमै पहिलोपटक आफैं उम्मेदवार भएर चुनाव लड्दैछन्। यसअघि भएका सात निर्वाचनमा उनी स्वयं उम्मेदवारभन्दा बढी पार्टी संगठन र कार्यकर्तामार्फत चुनाव लड्ने पात्र थिए। सायद ०६४ को ‘क्रान्तिकारी खहरे’ ले आफूलाई बगाएको स्मृतिका कारण होला—यसपटक ओली कुनै पनि प्रकारको हेलचक्र्याईं गर्न चाहँदैनन्।

ओलीले सम्भवतः सबै मतदाताका घर–घर पुग्ने रणनीति अपनाएका छन्। काठमाडौंमा जति आलोचित भए पनि, झापामा हामी दुई दिन बस्दा देखिएका दृश्यले अर्कै कथा भन्छन्। उनीप्रति अहंकार पलाउन सक्ने किसिमको आकर्षण र आम मानिसलाई हिप्नोटाइज गर्ने शक्ति अझै कमजोर भएको देखिँदैन। दमकको भ्यूटावर काठमाडौंका लागि लापरवाही लाग्न सक्छ, तर झापालीका लागि गर्वको स्मारक बनेको छ। नेपाल–चीन औद्योगिक पार्क र रंगशाला भूराजनीतिक भूल लाग्न सक्छन्, तर झापालीका आँखामा ती ऐतिहासिक विकास मोडेल हुन्। यसमाथि ओलीले ‘हामी झापाली’ भन्ने अभियानलाई थप ट्रेन्ड गराउन लागि परेका छन् ।

प्रखर टिप्पणीकार सीके लालका शब्दमा ‘खस–ब्राह्मण निर्जातीय समुदायको प्रतिनिधि’ का रूपमा ओली निर्वाचन क्षेत्रमा चलिरहेका आधा दर्जन यज्ञ, पूजा र कर्मकाण्डमा सहभागी हुँदै, पण्डितहरूलाई नै मोहित पार्ने गरी शुद्ध संस्कृत श्लोक उच्चारणसहित कथा वाचन गरिरहेका छन्। बालेन पाथीभारा पुगेर फेटा गुथेको फोटो भाइरल बनाइरहेका बेला, झापामा ओली रुद्राक्षको मालासहित पण्डित्याइँ गरिरहेका देखिन्छन्।

बालेनको बेगले बेपत्ता भएको हल्ला चलिरहेका बेला, खुट्टामा पट्टी बाँधेर रोड–शोमा निस्किएका रवि लामिछानेलाई गृहप्रवेश गराउँदै उनका पण्डितले ‘राजा फर्काइदिन’ अनुनय गर्दा उन्मत्त मुस्कान देखिनु कुनै नौलो दृश्य रहेन।

यसै पनि घर–घर र व्यक्ति–व्यक्तिलाई अधैर्य, आक्रोशित, छटपट र बेचैन बनाइरहेको सञ्जालको कोलाहलबीच बालेनकै चर्चा हुनु कुनै पनि अर्थमा अस्वाभाविक छैन। परम्परागत राजनीतिक दलहरूमध्ये सञ्जाललाई ‘रङ्ग्याउने’ मामिलामा यसअघि ओली र गगन थापा अग्रपंक्तिमा थिए। यसपटक भने आश्चर्यजनक रूपमा गगन सञ्जालमा छायाँमा परेका छन्। उनले देशदौडाहामा परम्परागत शैलीकै भेला, बैठक र भेटघाट गरेका छन्। ती गतिविधिलाई कन्टेन्टमा रूपान्तरण गर्न र प्रभावकारी मिडिया कभरेज गर्न काठमाडौंका सञ्चारमाध्यमलाई बडो सकस परिरहेको छ।

यही महामारीपूर्ण खहरेमा प्रचण्ड नदेखिनु पनि कुनै अर्थमा अस्वाभाविक होइन। पुरातन कम्युनिस्ट परम्परा, पहाडी तथा हिमाली क्षेत्रतर्फ केन्द्रित जनाधार, र लोकप्रियतावादी लल्कारलाई धेरै ढिलोगरी बुझ्दै आएको दल र त्यसका नेता भएका कारण प्रचण्ड यसपटक पनि सञ्जालमा छायाँमै रहने देखिन्छन्।

तर कोशी र मधेशमा भने प्रचण्डको दलका उम्मेदवारहरू उत्साहित र आक्रामक चुनावी प्रचार अभियानमा खटिरहेको देखिनु यसपटकको अर्को रोचक पक्ष हो। मधेश र कोशी प्रदेशका अधिकांश स्थानमा अघिल्लो निर्वाचनमा तेस्रो स्थानमा सीमित भए पनि, यसपटक सबै क्षेत्रमा आफ्नै चुनाव चिन्हबाट उम्मेदवारी दर्ता गर्न पाएकोमा उनीहरू खुशी देखिन्छन्।

मोरङजस्तो सर्वथा अस्थिर र अन्योलमा रुमलिएको जिल्लामा समेत अमनलाल मोदीले नयाँ मानक बनाउने सम्भावना प्रबल देखिएको तथ्यलाई उनका प्रतिस्पर्धी—नवनिर्वाचित नेपाली कांग्रेस महामन्त्री गुरु घिमिरे र एमालेका जीवन घिमिरे—ले समेत हामीसँगको भेटमा अस्वीकार गरेनन्।

सुनसरी, जहाँ हर्क साङपाङका कारण चुनावी चासो उच्च छ, त्यहाँ हर्क र उनका पूर्व वडा अध्यक्षसमेत रहेका नेकपाका मनोज भट्टराईबीच प्रत्यक्ष टक्कर चलिरहेको छ। नेपाली कांग्रेस र एमाले भने त्यहाँ लगभग मौनजस्तै देखिन्छन्। ‘किनारामा गोमा तामाङ उभिएको’ स्थानीय पत्रकारहरूको आम टिप्पणी पनि सुनियो।

तर सुनसरीको चुनावी नारामा भने एउटा अनौठो समानता देखिन्छ—‘बा र बालेन’माथि खनिने प्रवृत्ति। हर्क र उनका प्रतिस्पर्धीहरू सबैभन्दा मुखर रूपमा ‘बा र बालेन’को आलोचनामा उत्रिएका छन्, र त्यसमा कुनै कसर बाँकी राखेका छैनन्।

फेरि पनि आजको प्रसंग—र सम्भवतः यो चुनावभरको मूल विषय—बा र बालेनमै फर्किन्छ।

(बाँकी अर्को भागमा।)

: फोटाहरु बा र बालेनकै फेसबुक पेजबाट लिएएका हुन् ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

नेताको इमान्दारिता र ठोस नीति भए भ्रष्टाचार हट्छ: गगन थापाको प्रतिवद्धता

नेकपाको प्रतिबद्धता : भ्रष्टाचारविरुद्ध लोकपालदेखि ‘भोकमुक्त’ राष्ट्र, सन्तुलित विदेशनीति (पूर्णपाठ)

सम्बन्धित

विशेष महाधिवेशनका बेला विदेशी सूत्रहरुले पहुँच राखेका थिए : नेका. महामन्त्री घिमिरे (भिडियो)

नेताको इमान्दारिता र ठोस नीति भए भ्रष्टाचार हट्छ: गगन थापाको प्रतिवद्धता

ओलीको आह्वान: मतदान ‘चुपचाप होइन, सोचविचार गरेर’

नेकपाको प्रतिबद्धता : भ्रष्टाचारविरुद्ध लोकपालदेखि ‘भोकमुक्त’ राष्ट्र, सन्तुलित विदेशनीति (पूर्णपाठ)

‘व्यवस्था बदलेको हामीले हो, अब अवस्था पनि हामीले नै बदल्ने छौँ–अरुले गफ गर्ने हुन्, हामी काम गर्छौं’

नेकपाको चुनावी घोषणापत्र : ५ प्रतिशत ब्याजमा १ करोडसम्म सहुलियतपूर्ण ऋण

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com