समकालीन नेपाली राजनीति बुझ्न आज एउटै व्यक्ति वा एउटै दल पर्याप्त छैन। अहिलेको शक्ति संरचना– एउटै रेखामा त्रिकोणीय प्रतित हुँदैछ । जहाँ केपी शर्मा ओली, रवि लामिछाने र बालेन्द्र शाह तीन भिन्न तर आपसमा गहिरो रूपमा गाँसिएका ध्रुवका रूपमा देखिन्छन्। यी तीनै पात्र फरक–फरक बाटोबाट उदाएका भए पनि उनीहरूलाई जोड्ने साझा सूत्र भनेको स्थापित उदार–संवैधानिक लोकतान्त्रिक अभ्यासप्रतिको असन्तुष्टि र त्यसलाई आ–आफ्नै शैलीमा पुनःपरिभाषित गर्ने प्रयास हो।त्यसैले यतिबेलाको राजनीतिक बहस, नीति,विचार सिद्धान्त र कार्यक्रम त्यसमाथि पनि कुन दल भन्ने भन्दा पनि मुख्यरुपले व्यक्तिको अनुहारमा केन्द्रित भइरहेको छ ।
के हामी बहस, पारदर्शिता र संस्थागत उत्तरदायित्व चाहन्छौं, कि करिस्मा, भावनात्मक अपील र छिटो निर्णय?
१. केपी शर्मा ओली: संस्थागत शक्तिको लोकप्रियतावादी अपहरण
केपी शर्मा ओली यस त्रिकोणको संस्थागत ध्रुव हुन्। उनी पुरानो दल, राज्य संयन्त्र, संसदीय गणित र प्रशासनिक संरचनाको भित्री खेल बुझ्ने नेता हुन्। तर उनको लोकप्रियता विचार वा नीतिभन्दा बढी राष्ट्रवाद, डर, र “हामी बनाम उनीहरू” को भाष्यमा टिकेको छ।

सैद्धान्तिक रूपमा ओली संस्थागत लोकप्रियतावादी (institutional populist) हुन्—अर्थात्, उनी संस्थाभित्रै बसेर लोकप्रियतावादी शैली प्रयोग गर्छन्। कास मुद्डेले भनेझैँ, यस्तो लोकप्रियतावादले लोकतन्त्रका औपचारिक संरचना जोगाइराख्छ, तर त्यसको आत्मा खोस्छ। ओलीको शासनमा संसद, अदालत र संवैधानिक निकायहरू रहे, तर निर्णय–केन्द्रित शक्ति क्रमशः प्रधानमन्त्री र उनको वरिपरि सिमित हुँदै गयो।
ओली कमजोर हुँदा—विशेषतः सरकार पतनपछिको अराजकतामा—राजनीतिक खाली ठाउँ (power vacuum) सिर्जना भयो। यही खाली ठाउँमा रवि र बालेन उदाए।
२. रवि लामिछाने: सञ्चार–लोकप्रियतावाद र भावनात्मक राजनीति
रवि लामिछाने यस त्रिकोणको भावनात्मक र सञ्चार–केन्द्रित ध्रुव हुन्। उनको शक्ति पार्टी संगठनभन्दा बढी मिडिया, कथा (narrative) र पीडित–नायकको छविमा आधारित छ। उनी क्लासिक लोकप्रियतावादी ढाँचामा पर्छन्—जहाँ “जनता” सधैं सही छन्, र “प्रणाली” सधैं गलत छ ।

रवि र बालेनबीचको प्रारम्भिक निकटता संयोग थिएन। यी दुवैले अपनाएका साझा केही विन्दु मुख्य आधार बन्दै आएका छन् ।
- स्थापित दलहरूलाई “पुराना/भ्रष्ट” ठान्छन्
- आफूलाई “जनताको सिधा आवाज” का रूपमा प्रस्तुत गर्छन्
- संस्थागत बहसभन्दा भावनात्मक अपीलमा भरोसा गर्छन्
तर रवि र बालेनबीच एउटा महत्त्वपूर्ण भिन्नता छ। रवि जनसमर्थनलाई पार्टीकरण गर्न खोज्छन्; बालेन भने त्यसबाट पनि दूरी राख्छन्। यही कारण उनीहरूको सम्बन्ध नाटकीय रूपमा जोडियो र उस्तै नाटकीय रूपमा कमजोर बन्दै गइरहेको छ, त्यसको छिटै अवसान यो शैलीको नियति नै हो ।
३. बालेन शाह: उत्तरदायित्वविहीन करिस्माको राजनीति
बालेन यस त्रिकोणको सबैभन्दा जटिल ध्रुव हुन्। उनी न त ओलीजस्ता संस्थागत खेलाडी हुन्, न त रविजस्ता खुला लोकप्रियतावादी। उनी उत्तर लोकप्रियतावादी प्राविधिक बलियो व्यक्तित्व(post-populist technocratic strongman) जस्ता देखिन्छन्—जहाँ दक्षता, निर्णयको गति र व्यक्तिगत करिस्मा लोकतान्त्रिक प्रक्रियाभन्दा माथि राखिन्छ।

सैद्धान्तिक रूपमा, यो शैली लोकतन्त्रका लागि सबैभन्दा जोखिमपूर्ण हुन सक्छ। किनकि:
- यसले आफूलाई न दलको अधीनमा राख्छ
- न त सार्वजनिक बहसको उत्तरदायित्व स्वीकार गर्छ
- न त स्पष्ट वैचारिक ढाँचा प्रस्तुत गर्छ
बालेनको गोप्यतामुखी स्वभाव, बहस अस्वीकार गर्ने प्रवृत्ति, र चयनात्मक संवादले उनी दृश्य शक्ति (visible power) भन्दा अदृश्य शक्ति (invisible power) तर्फ आकर्षित देखिन्छन्—जहाँ शक्ति प्रयोग त हुन्छ, तर त्यसको औचित्य सार्वजनिक रूपमा स्पष्ट हुँदैन।गर्न नै खोजिंदैन, कसैले त्यस्तो माग गरेमा दुश्मन ठहराइन्छ ।
त्रिकोणीय सम्बन्ध: टकराव -आपसी निर्भरता
महत्त्वपूर्ण कुरा के हो भने, यी तीन पात्र केवल प्रतिस्पर्धी मात्र होइनन्—उनीहरू एक–अर्काबाट आंशिक रूपमा लाभान्वित पनि छन्।
- ओली कमजोर हुँदा रवि र बालेन बलिया देखिन्छन्
- रवि विवादमा पर्दा बालेन “शान्त विकल्प” झैँ देखिन्छन्
- बालेनमाथि प्रश्न उठ्दा ओलीको “अनुभवी नेतृत्व” को तर्क पुनः बलियो हुन्छ
यो सम्बन्ध शून्य–योग खेल (zero-sum) होइन; यो घुमाउरो वैधता उत्पादन गर्ने खेल हो, जहाँ एकको संकटले अर्कोलाई अवसर दिन्छ।
लोकतन्त्रका लागि के अर्थ लाग्छ?
यो त्रिकोणीय राजनीति शैलीले नेपाली लोकतन्त्रलाई एउटा खतरनाक मोडमा पुर्याएको छ:
- ओलीले संस्थालाई कमजोर बनाए
- रविले भावनालाई संस्थामाथि उछाले र उछालिरहेका छन्, उनको विशेषता नै त्यही हो ।
- बालेनले प्रक्रियामाथि व्यक्तिलाई राखे, महानगरपालिकाको प्रमुख हुँदा उनले गरेको अलोकतान्त्रिक भूमिकगत शैलीलाई अब राष्ट्रिय प्रवृत्ति बनाउन उनी उद्यत छन् । कतिसम्म भने उनले राजीनामा गर्दा महानगरबासीलाई एक शब्द धन्यवाद भन्न समेत उचित ठानेनन् । किनकि उनी मसिहा हुन् । उनी कसैप्रति कृतज्ञ हुनु पर्दैन ।
तीनै अवस्थामा साझा समस्या एउटै हो—लोकतन्त्रलाई अभ्यास होइन, बाधा ठान्ने प्रवृत्ति।
नेपालको मुख्य प्रश्न अब “को सही?” होइन। मुख्य प्रश्न हो:
के हामी बहस, पारदर्शिता र संस्थागत उत्तरदायित्व चाहन्छौं, कि करिस्मा, भावनात्मक अपील र छिटो निर्णय?
बालेन–रवि–ओली त्रिकोणीय शक्ति भोक र अभ्यास शैलीले यही प्रश्नलाई अझ तीखो बनाएको छ। र यो प्रश्नको उत्तर बिना, कुनै पनि “नयाँ अनुहार” अन्ततः पुरानै समस्याको नयाँ संस्करण बन्ने जोखिममा रहन्छ। अझै पनि समय घर्किसकेको छैन । लोकतान्त्रिक सार्थक बहस अझै बढी प्रखर भएको छ । फेरि पनि यी तीन पात्र यतिबेला मुखर बनेका भएतापनि ओली भने व्यवस्थापन अयोग्य पात्र बन्न सक्दैनन् भन्ने सन्दर्भ र तथ्यलाई उनको दल र दलीय पदानुक्रमकि संरचनाको संस्थागत अभ्यासले देखाइरहेको छ ।








प्रतिक्रिया दिनुहोस्