काठमाडौं ५ माघ । प्रतिनिधि सभा निर्वाचनको मनोनयन दर्ताको पूर्वसन्ध्यामा पूर्वमन्त्री तथा जसपा नेपालका नेता प्रदीप यादव नेकपा एमालेमा प्रवेश गरेका छन्। उनी गएराति एमालेमा प्रवेश गरेका हुन्।
एमाले अध्यक्ष केपी शर्मा ओलीले यादवलाई खादा लगाएर पार्टीमा स्वागत गरेका थिए। यादवसँगै वीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंहसहितका नेता–कार्यकर्ता पनि एमालेमा प्रवेश गरेका छन्।
यादव ओली नेतृत्वको सरकारमा खानेपानी मन्त्री थिए। गत भदौ २३ र २४ मा भएको जेनजी युवा आन्दोलनपछि उनी ओली नेतृत्वकै सरकारबाट बाहिरिएका थिए।
जेनजी आन्दोलनपछि यादवले अशोक राई नेतृत्वको जसपा त्यागेर उपेन्द्र यादव नेतृत्वको जसपा नेपाल प्रवेश गरेका थिए। पछिल्लो समय उनी जसपा नेपालको समन्वय समिति सदस्यको जिम्मेवारीमा थिए।
प्रतिनिधि सभा निर्वाचनको मनोनयन दर्ताको अघिल्लो दिन जसपा नेपाल पनि परित्याग गर्दै उनी एमाले प्रवेश गरेका हुन्। यादव आगामी निर्वाचनमा पर्सा क्षेत्र नम्बर १ बाट पुनः प्रतिनिधि सभा निर्वाचन लड्ने तयारीमा रहेको स्रोतले जनाएको छ।
स्रोतका अनुसार एमाले अध्यक्ष ओलीले यादवलाई टिकट दिने वचनसमेत दिइसकेका छन्।








प्रतिक्रिया दिनुहोस्