काठमाडौं, ४ माघ । धनकुटाबाट धरानतर्फ आउँदै गरेको यात्रुबाहक बस धरानको जिरो पोइन्टमा दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ। दुर्घटनामा परी दुई दर्जनभन्दा बढी यात्रु घाइते भएका छन्। दुर्घटनामा ३ पुरुष र २ महिलाको ज्यान गएको इलाका प्रहरी कार्यालय धरानका डीएसपी भीषणबाबू राईले जानकारी दिए।
को १ ख ७११९ नम्बरको उक्त बस अचानक ब्रेक फेल भई अनियन्त्रित भएपछि सडक छेउमा हिँडिरहेका पैदल यात्रुलाई ठक्कर दिएको र त्यसपछि सडक किनारमा पल्टिएको डीएसपी राईले जानकारी दिए। उनका अनुसार तीव्र गतिमा रहेको बसले पैदल यात्रुलाई ठक्कर दिँदा घटनास्थलमै केहीको मृत्यु भएको हो र बसमा सवार सबै यात्रु घाइते भएको बताए।दुर्घटनामा परेर घाइते भएका यात्रुहरूलाई तत्काल उद्धार गरी धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका लागि भर्ना गरिएको छ। घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेको छ। हालसम्म मृतकहरूको पहिचान खुल्न सकेको छैन।
प्रहरीका अनुसार शवहरू पोस्टमार्टमका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठाउने तयारी प्रहरीले गरेको छ। दुर्घटनापछि घटनास्थलमा स्थानीयवासी र सुरक्षाकर्मीको सहयोगमा उद्धार कार्य गरिएको थियो।प्रहरीले बस दुर्घटनाको विस्तृत अनुसन्धान सुरु गरेको जनाएको छ। प्रारम्भिक अनुसन्धानमा ब्रेक फेल भएको देखिए पनि बसको यान्त्रिक अवस्था, चालकको भूमिका र अन्य सम्भावित कारणबारे थप छानबिन भइरहेको डीएसपी राईले बताए। दुर्घटनाले केही समय धरान–धनकुटा सडक खण्डमा सवारी आवागमन प्रभावित भएको थियो।








प्रतिक्रिया दिनुहोस्