काठमाडौं ४ माघ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले लुम्बिनी प्रदेशका अधिकांश निर्वाचन क्षेत्रमा उम्मेदवार टुंगो लगाएको छ । तर प्रदेश राजधानी दाङका दुई निर्वाचन क्षेत्रसहित केही स्थानमा भने साविक माओवादी केन्द्र र साविक एकीकृत समाजवादीबीच सहमति नजुट्दा उम्मेदवार चयन हुन सकेको छैन ।
पूर्वी रुकुमबाट नेकपा संयोजक प्रचण्ड स्वयं उम्मेदवार बनेका छन् । दाङ क्षेत्र नम्बर ३ मा भने तत्कालीन माओवादी लडाकुका डिभिजन कमाण्डर तथा हाल लुम्बिनी प्रदेशसभा सदस्य धनबहादुर मास्कीको नाम टुंगो लागेको छ ।
दाङ क्षेत्र नम्बर १ मा उम्मेदवार चयनलाई लिएर तीव्र विवाद देखिएको छ । अघिल्ला दुई निर्वाचनमा विजयी मेटमणि चौधरीलाई तेस्रोपटक पनि उम्मेदवार बनाउने तयारी भइरहेका बेला पूर्वमुख्यमन्त्री **कुलप्रसाद केसी (सोनाम)**ले विरोध जनाएका छन् । साविक माओवादी नेता केसीले टिकट नपाए बागी उम्मेदवारी दिने चेतावनी दिएका छन् ।
दाङ क्षेत्र नम्बर २ मा साविक माओवादी नेता निर्मल आचार्यको नाममा छलफल भए पनि औपचारिक निर्णय भइसकेको छैन । अघिल्लो निर्वाचनमा यही क्षेत्रबाट माओवादी नेतृ रेखा शर्माले एमाले महासचिव शंकर पोखरेललाई पराजित गरेकी थिइन् । यसपटक शर्मा उम्मेदवार सिफारिसमै परेकी छैनन् ।
नेकपाले लुम्बिनी प्रदेशमा हालसम्म टुंगो लगाएका उम्मेदवारको सूची यसप्रकार छः
पश्चिम नवलपरासी
– क्षेत्र १: सिन्धु जलेसा
– क्षेत्र २: देवेन्द्र पौडेल
रुपन्देही
– क्षेत्र २: विश्वदीप पाण्डे
– क्षेत्र ३: फैयाद खान
– क्षेत्र ४: बाबुलाल यादव
– क्षेत्र ५: वकिल मुसलमान
कपिलवस्तु
– क्षेत्र १: कृष्ण कँवर
– क्षेत्र २ र ३: टुंगिन बाँकी
दाङ
– क्षेत्र १: टुंगिन बाँकी (मेटमणि चौधरी वा कुलप्रसाद केसी)
– क्षेत्र २: टुंगिन बाँकी (निर्मल आचार्यको नाममा छलफल)
– क्षेत्र ३: धनबहादुर मास्की
पूर्वी रुकुम
– प्रचण्ड
रोल्पा
– वर्षमान पुन
प्युठान
– भोजविक्रम बुढा
अर्घाखाँची
– रामबहादुर चौहान
गुल्मी
– क्षेत्र १: सुदर्शन बराल
– क्षेत्र २: बुद्धिबहादुर जीसी
पाल्पा
– क्षेत्र १: होमबहादुर सुनारी
– क्षेत्र २: सोमप्रसाद पाण्डे
बाँके
– टुंगिन बाँकी
बर्दिया
– क्षेत्र १: बामदेव गौतम
– क्षेत्र २: टुंगिन बाँकी (कविराम थारु वा लालवीर चौधरी)








प्रतिक्रिया दिनुहोस्